भारतमा कोरोनाबाट एकैदिन ७ हजार बढी संक्रमित, १७७ जनाको मृत्यु

Newslaya Home

भारतमा कोरोनाबाट एकैदिन ७ हजार बढी संक्रमित, १७७ जनाको मृत्यु

शुक्रबार १६, जेठ २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएको भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शुक्रबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ७ सय ११ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ ।

त्यहाँ बिहीबार एकैदिनमा ७ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् भने १७७ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

संक्रमितमध्ये ७० हजार ९२० मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८९ हजार ७ भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । तीमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर रहेको छ ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।