सांसदले पाउने बजेट हटेन, बरु घट्यो

Newslaya Home

सांसदले पाउने बजेट हटेन, बरु घट्यो

बिहीबार १५, जेठ २०७७

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसद्‌मा निर्वाचित सांसदले तजबिजी अधिकारमा खर्च गर्न पाउने पैसा घटाइदिएका छन् ।

स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदले यस वर्ष ६ करोड रूपैयाँ परिचालन गर्न पाएका थिए । तर, आगामी आर्थिक वर्षको लागि भने अर्थमन्त्रीले यस्तो बजेट घटाएर चार करोडमा सीमित गरिदिएका छन् ।

‘सबै निर्वाचन क्षेत्रमा स्वास्थ्य तथा पूर्वाधार विकासका बाँकी कार्य सम्पन्न गर्नको लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ अर्ब ६० करोड विनियोजन गरेको छु’, अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट वक्तव्यमा भनिएको छ ।

चालू आर्थिक वर्षको लागि भने सोही कार्यक्रमको लागि ९ अर्ब ९० करोड छुट्टयाइएको थियो । यो पैसा पनि प्रभावकारी रूपमा खर्च हुन सकेको थिएन ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार, अहिलेसम्म जम्मा एक अर्ब ९ करोड रूपैयाँ मात्रै खर्च भएको छ ।

सांसदको निर्वाचन क्षेत्रमा पूर्वाधार विकासमा खर्च गर्नुपर्ने यो रकम धेरैजसो असारको अन्तिममा खर्च हुने हुँदा अनियमितता हुने भन्दै आलोचना हुने गरेको छ ।

संसद्‌मा प्रतिपक्ष दलका सांसदहरू यो कार्यक्रम खारेज गर्न माग गर्दै आएका थिए ।

आगामी आर्थिक वर्षमा भने यही बजेटमार्फत् एक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक, प्रत्येक निर्वाचन क्षेत्रमा विद्युत, कृषि, सिँचाइ र नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ ।

सबै स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा साधन स्रोतको वितरण समन्यायिक तुल्याउन उक्त बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन् ।