भारतीय मिडिया भन्छन्, ‘नेपालले फिर्ता लियो नक्सा’

Newslaya Home

भारतीय मिडिया भन्छन्, ‘नेपालले फिर्ता लियो नक्सा’

बुधबार १४, जेठ २०७७

काठमाडौ । नेपालको नयाँ नक्सालाई संविधानमै समेट्ने गरी संशोधन प्रक्रिया अघि बढिरहेकै बेलामा भारतीय मिडियाहरुले भने नेपालले नक्सा फिर्ता लिएको समाचार सम्प्रेषण गरेका छन् ।

प्रतिनिधिसभामार्फत् संविधान संशोधन गरी नक्सा परिवर्तनको विषयलाई संविधानमै समावेश गर्ने विषयमा सरकारको कसरत थियो । जसमा नेपाली काँग्रेसलेसमेत सहमती जनाएको थियो । तर यही बिचमा भारतीय प्रतिनिधिहरुले नेपाली काँग्रेससहितका राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको भन्ने खबर बाहिरीएको थियो । संविधान संशोधन गर्न दुई तिहाईले उक्त विषयलाई संसदमा अनुमोदन गर्नुपर्छ । त्यसको लागि नेकपाबाहेकका राजनीतिक दलकोसमेत सहयोग चाहिन्छ ।

भारतीय सञ्चारमाध्यम आजतकले कुटनीतिक सम्बन्धमा दरार आएपछि संसदमा पारित हुन लागेको प्रस्ताव नेपालले रोकेको समाचार लेखेको छ । यो विषयको प्रस्ताव नै हटाइएको लेखेको छ ।

‘खासमा नेपालले जारी गरेको नक्सालाई देशको संविधानमा राख्नको लागि आज संसदमा संविधान संशोधनको प्रस्ताव राख्नुपर्ने थियो,’ समाचारमा लेखिएको छ, ‘तर नेपाल सरकारले अन्तीम समयमा आएर संविधान संशोधनको प्रस्तावलाई कार्यसुचीबाटै हटाएको छ ।’

मंगलबार प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएको र बैठकमा सबै दलले भारतसँग कुरा गरेर समस्या समाधान गर्न सल्लाह दिएको लेखिएको छ । ‘नेपालले नयाँ नक्सालाई संसदमा पेश नगरेर कुटनीतिक रुपबाट परिपक्व भएको उदाहरण दिएको छ,’ समाचारमा लेखिएको छ ।

नेपाल पछि हटेको विषयमा विभिन्न भारतीय सञ्चारमाध्यमहरुबाट खबर सम्प्रेषण भइरहेका छन् । भारतसँग दुई पक्षीय वार्ताको लागि माहोल बनाउन यो कदम उठाएको अर्थसमेत कतिपय भारतीय सञ्चारमाध्यमले लगाइरहेका छन् भने कतिपयले नेपाल डराएर पछि सरेको बताइरहेका छन् ।

अर्को अनलाइन न्युज १८ ले नेपाली काँग्रेसको दबाबमा सरकार पछि हटेको लेखेको छ । यसलाई उसले भारतको कुटनीतिक जितका रुपमा समेत व्याख्या गरेको छ ।

र्‍यापिड लिक्स इण्डियाले भने संविधान संशोधनको एजेन्डालाई कार्यसूचिबाट हटाएर नेपाल एक कदम पछाडि हटेको टिप्पणी गरेको छ ।

नेपालमा संविधान संशोधनको कार्यसूचि हटाइए पनि यसबारे कारण सम्बन्धित निकायहरुले कारण खुलाएका छैनन् । सामाजिक सञ्जालमा भने सरकारसँग आशंका गर्दै आलोचना सुरु भएको छ ।

यता नेपाली कांग्रेसले केन्द्रीय समितिमा छलफल गरेर निर्णय गर्ने भनेको चर्चा चलेको छ । आशंका र टिप्पणी सार्वजनिक हुन थालेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने आफूहरु नक्सा समेट्ने पक्षमा दृढ रहेको बताउँदै अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गर्दै ट्वीट गरेकाछन् ।