नेपालसँग सम्बन्ध बिगारेको भन्दै मोदीमाथि खनिए राहुल गान्धी

Newslaya Home

नेपालसँग सम्बन्ध बिगारेको भन्दै मोदीमाथि खनिए राहुल गान्धी

बुधबार १४, जेठ २०७७

काठमाडौँ । नेपाल र चीनसँगको सम्बन्धमा आएको दरारका विषयमा कांग्रेस नेता राहुल गान्धीले भारत सरकारसँग जवाफ माग गरेका छन् ।

सञ्चार माध्यमसँगको कुराकानीका क्रममा कांग्रेस नेता गान्धीले भारत सरकारले पछिल्ला दिनमा देखिएको नेपाल र चीनसँगको दरारका विषयमा जवाफ दिनुपर्ने बताएका हुन् ।

कोरोना भाइरसको महामारीकै समयमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले पछिल्ला दिनमा नेपाल र चीनको सीमावर्ती क्षेत्रमा जारी तनावका विषयमा सरकारलाई विभिन्न प्रकारका प्रश्न सोधेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का नेताहरु नेपालविरुद्ध उभिँदा विपक्षी कांग्रेसले भने सम्बन्ध बिगारेको भन्दै सत्तारुढ भाजपाको आलोचना गरेको छ । गान्धी भन्छन्, ‘नेपालसँग के भएको हो ? लद्दाख क्षेत्रमा के भइरहेको छ ? सरकारले प्रष्ट जानकारी दिनुपर्छ । सरकार पारदर्शी बन्नुपर्छ ।’

भारतले नेपाली भुमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो बनाएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ । नेपाल सरकारले भारतको कब्जामा रहेको लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको हो । नेपालको नयाँ नक्साप्रति भारतले असन्तुष्टि व्यक्त गरेको छ ।

यस्तै पछिल्लो केही दिनयता भारत र चीनबीचको सीमा विवाद पनि सतहमा आएको छ । लद्दाखमा चिनियाँ सेना आफ्नो भुमिमा प्रवेश गरेको भारतले आरोप लगाएको छ ।