दाइजोको निहुँमा आठ महिनाकी गर्भवतीको हत्या, प्रहरीले किटानी जाहेरी दर्ता गरेन

Newslaya Home

दाइजोको निहुँमा आठ महिनाकी गर्भवतीको हत्या, प्रहरीले किटानी जाहेरी दर्ता गरेन

बुधबार १४, जेठ २०७७

ललितपुर । दाइजोमा मोटरसाइकल नपाएपछि गर्भवती बहिनीको हत्या गरिएको भन्दै मृतकका दाइले दिएको उजुरी रौतहट प्रहरीले दर्ता गर्न मानेको छैन । २०७७ बैशाख १६ गते श्रीमान्, ससुरा र कान्छा ससुराले दाइजोको निहुँमा हत्या गरेको भन्दै माइती पक्षले दिएको उजुरी प्रहरीले दर्ता नगरेको हो ।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनीयाका रोशन ठाकुरले २३ वर्षीया आफ्नी बहिनी रेखादेवी ठाकुरको श्रीमान् संजय ठाकुर, ससुरा नागेन्द्र ठाकुर र कान्छा ससुरा देवेन्द्र ठाकुरले विभत्स तरिकाले हत्या गरेको आरोपमा आफूले दिएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको बताए ।

आठ महिने गर्भवती अवस्थाकी बहिनीको नाकमुख बन्द गरि, घाँटी च्पापेर हत्या गरिएको भए पनि प्रहरीले हत्या आरोपितको प्रभावमा परेर आफ्नो उजुरी दर्ता नगरेको रोशको आरोप छ ।

मृतकका दाइ रोशनका अनुसार २०७६ जेठ १ गते रेखादेवी र संजयको मागी विवाह भएको हो । आफूहरूले खेत बेचेर ११ लाख दाइजो दिएको ९ लाख बढी विवाहमा खर्च गरेको उनले बताए । २० लाखभन्दा बढी खर्च गरेर गरिदिएको विवाहमा संजयले एनएसको पल्सर मोटरसाइकल माग गरेका थिए ।

माइती पक्षले मोटरसाइकल किनिदिन्छौं भन्दा विवाह अघि नै संजयका बुबा नागेन्द्र ठाकुर र संजयका दाईले रेखादेवीको माइतीमै गएर मोटरसाइकल हामी आफै किन्छौं, नगद दिनुस् भनि ३ लाख २८ हजार बुझेर लिएको तर संजयलाई मोटरसाइकल नकिनिदिएपछि विवाहपछि संजयले रेखालाई मोटरसाइकल ल्याउन भन्दै यातना दिन शुरु गरेको रोशनको भनाइ छ ।

तर रेखादेवीले मोटरसाइकलको पैंसा ससुरा र जेठाजुले बुझिसकेकाले माइतीले फेरि दिन सक्ने अवस्था नरहेको भन्दै श्रीमान् र परिवारको यातना सहँदै आएको पनि रोशनको भनाइ छ ।

हत्या हुनुभन्दा अघि २०७६ फागुनको दोस्रो हप्तातिर गर्भावस्थाकी रेखादेवी श्रीमान्को कुटपिट र परिवारको हिंसा सहन नसकेपछि मोटरसाइकलको विषयमा कुरा गर्न माइती आएको र आफूहरूले विवाह अघि मोटरसाइकलको पैंसा बुझिलिने ससुरा र जेठाजुसंग कुरा गर्छौ भनेका थिए । तर संजयले मबाट गल्ती भयो, अबदेखि कुटपिट गर्दिन भन्दै रेखादेवीकी आमासंग माफी मागेर रेखादेवीलाई घर लगेका थिए । घर पुगेपछि फेरि यातना शुरु भएको उनले माइतीलाई जानकारी गराइरहेकी थिइन् ।

रेखादेवीको बिहान १० बजेकै समयमा हत्या भए पनि आत्महत्या गरेको भन्दै आफूहरूलाई खबरै नगरेर परिवारले गुपचुप तरिकाले दाह संस्कार गर्न खोजेपछि घटना भएकै दिन बैशाख १६ गते बेलुकी गाउँलेले गोप्य तरिकाले तिम्रो छोरीको मृत्यु भयो भनि खबर गरिदिएपछि एक किलोमिटरको दुरीमा रहेको बहिनीको घर पुगेर शब हेर्दा हत्याको शंका लागेपछि उजुरी गरेको रोशनको भनाइ छ ।

बन्दाबन्दीको यो जटिल अवस्थामा पनि जिल्ला अस्पतालमा पोष्टमार्टम रिपोर्ट गलत आउन सक्ने शंका लागेपछि आफूहरूले बैशाख १८ गते बहिनीको शव काठमाडौंको टिचिङ अस्पताल ल्याई पोष्टमार्टम गरेको रोशनले महिला खबरलाई बताए । तर पोष्टमार्टम रिपोर्ट माग्दा टिचिङ अस्पतालले जिल्ला प्रहरी कार्यालयले माग नगरेसम्म दिन नमिल्ने भन्दै अहिलेसम्म नदिएको उनले बताए ।

जिल्ला अस्पताल गौरमा ज्वाइँ संजयका ठूला बुबा विगतमा अध्यक्ष भइसकेका, अहिले जिल्ला अस्पताल नजिकै मेडिकल खोलेर बसेका र घटना ढाकछोप गर्न पूरै परिवार लागेकोले जिल्ला अस्पतालमा पोष्टमार्टम नगरेको उनले बताए ।

बन्दाबन्दीको यो समयमा ज्यान जोखिममा राखेर आफू हरेक दिनजसो जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय धाउने गरेको तर प्रहरीले कुनै पनि हालतमा मुद्दा दर्ता हुन्न भन्दै उल्टै आफूलाई धम्काएर पठाउने गरेको रोशनको आरोप छ ।

‘जिल्ला प्रहरीले मुद्दा दर्ता नगरेपछि बैशाख २३ गते हुलाकमार्फत पनि जिल्ला प्रहरी, जिल्ला प्रशासन र राष्ट्रिय मानव अधिकार आयोगमा जाहेरी पठाएको छु’ रोशनले महिला खबरसंग भने, ‘कुनै पनि निकायबाट अहिलेसम्म मुद्दाको कुनै सुनुवाइ भएको छैन’ उनले प्रश्न गरे, ‘घटना के हो अनुसन्धान गरेपछि खुल्ला । अदालतको फैसलासंग चित्त बुझाउला । तर पीडितको किटानी जाहेरीसमेत दर्ता नहुनु कति बिडम्वना हो रु’ उनले मुद्दा दर्ता गराउन सहयोग गरि हत्या गरिएकी आफ्नी गर्भावस्थाकी बहिनीमाथि न्याय गरिदिन सबैसंग आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र पोष्टमार्टम रिपोर्ट आइसकेपछि मुद्दा दर्ता गर्न जरुरी छ, छैन बुझेर मुद्दा दर्ता गर्ने नगर्ने बारे सोचिने बताए ।

पोष्टमार्टम रिपोर्ट नआउँदासम्म आफूले केही नबोल्ने भन्दै प्रहरी उपरीक्षक खड्काले कसैको दवाव र प्रभावमा परेर आफूले मुद्दा दर्ता नगर्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेकाले अहिले पत्रकारलाई सबै कुरा भन्न नमिल्ने बताए ।

महिला खबरबाट साभार