महामारीका गमला, बाटा र बाल्टीबारीहरु !!

Newslaya Home

महामारीका गमला, बाटा र बाल्टीबारीहरु !!

–लक्ष्मीप्रसाद कोइराला
मङ्गलबार १३, जेठ २०७७

बन्दाबन्दी भन्दा पहिले कसैकसैले आफ्नो घरको छतलाई गमलाबारी, बाटाबारी, बोराबारी, बाल्टीबारी बनाएर आर्ग्यानिक सब्जी उत्पादन गरेको देख्दा हाँसो मजाक गरेर उडाउने मान्छेहरु आज उदयमान श्रमजीवी हुनु हुँदैरहेछ । उहाँलाई छतबारीको करेसाबारीले आत्मनिर्भर बनाएछ ।

हिजो उहाँ मसँग भन्नूहुँदै थियो ‘अहिले त सब्जी किन्नु पर्दैन । रायाको गुन्द्रुक नै हालीसकेँ । अब गोलभेँडा लगाउनु छ ।’

मैले पत्याइनँ । हेर्न जान्छु है दाइ भनेँ । नपत्याए लु हेर्न हिँड्नुस् त जाऔँ भन्नुभयो । बाजी पर्ला झैँ भयो । जानै पर्यो है त लु भनेर मुखमा माक्स लगाएँ । अनि उहाँलाई लु हिड्नुस् भनेँ ।

उहाँ अघिअघि म पछिपछि । सामाजिक दुरी कायम गरेर गयौँ । उहाँको घर पुग्यौँ । कुकुर पालेको रहेछ । निक्कै भुक्यो । ह्वाङ्ह्वाङ् गर्दै ।

उहाँले डराउनु पर्दैन भन्नू भयो । डराएको छैन भनेँ । भित्र कसैलाई अह्राउँदै कुर्सी लेऊ लेऊ भन्नू भयो । सायद भाउजूलाई होला । फिटिक्कै कसैले सुनेन । आवाज सिधै गयो । प्यासेजबाहिर ।

उहाँले मलाई भित्र बसौँ भन्नू भयो । मैले नबसौँ भनेँ । किन नबस्ने हौँ ? बेलको सर्बत बनाउँन लगाउँछु । चाख्नु होस् न । निक्कै मीठो हुने रहेछ । तपाईं त भन्नु हुन्थ्यो पहिले । हो रहेछ वेलको सर्वत । मैले पत्याएको थिइन । बाटो हिँड्नेले टिपेर लान्थे । म त्यतिकै छोडिदिन्थेँ । हैट ! माल पाएर चाल नपाएको रहेछु । भन्दै भित्र जानुभयो ।

दुई वटा कुर्सी लिएर आउनु भयो । एउटा कालो थियो । अर्को रातो । कोरोना त छैन ? भन्दै मैले जिस्क्याएँ । त्यस्तो केही पनि छैन हौ । बस्नुस् न । सङ्का गर्नु पर्दैन भन्नू भयो । मैले बिश्वास गरेँ । अनि रातो कुर्सी तानेर बसेँ । निकैबेर गफ भयो ।

छोरीले सर्वत बनाएर ल्याइन् । सिसाको गिलासमा दिइन । हामीले थपिथपी पियौँ । निक्कै मीठो थियो । त्यसपछि प्रसङ्ग सब्जी कै निकालेँ ।उहाँले हिड्नुस् हेर्न जाऊँ भन्नू भयो । मैले इन्कार गरिनँ। उहाँको आग्रहलाई स्वीकार गरेँ । दुवै जना गयौँ । घरको छतमाथि ।

अहो ! उहाँले त आफ्नो घरको छतबारीमा मेहनत निक्कै पोख्नु भएको रहेछ । उम्रीएर फल्न थालेछ । कंंक्रीटको छत हरियोपरियो आर्ग्यानिक सब्जीबारी भएर ।

मैले बताए झैँ डल्ले खोर्सानी उमार्नु भएछ । गमला बारीमा । बाटाबरीमा रायाको साग । उहाँहरु पसैसाग भन्नूहुँदो रहेछ । बोराबारीमा पालुङ्गो साग । धनीयाँ, मेथी, चौसुर जस्ता मसलादार प्रजातिका सब्जीहरु निक्कै रोपेर लकडाउनलाई सदुपयोग गर्नुभको रहेछ ।

दुईवटा काँक्राका बोटहरु रहेछ्न् । एउटा फूल्न थालेको । अर्को फल्न थालेको । देखाउँदै काँक्रा खाने हो भन्नुभयो । मैले नखाने भनिन । उहाँले टपक्क टिपी हाल्नु भो । खुर्पाको बिँडजत्रो थियो । पट्याक्क भाँच्नु भयो । घुँडामा राखेर । बीचमा भाँचिएन । एउटा ठूलो भयो । अर्को सानो भयो । मलाई ठूलो दिनु भयो । आफूले सानो लिनु भयो ।

तितेतिते जाइजा मेठेमिठे आइजा भनिएन । त्यतिकै खाइयो कर्‍यामकर्‍याम । खुब मीठो । कलिलो काक्रो । उहाँको छतबारीमा फलेको । त्यो लकडाउनको काक्रो । साँच्चै निक्कै मीठो थियो।

कुन मल लगाउनु हुन्छ भनेँ । कम्पोस्ट मल लगाउँछु भन्नु भयो। अहो ! त्यो त झन गजब हो मैले भनेँ । अनि कसरी बनाउनु हुन्छ ? फेरि सोधेँ । उहाँले प्लाष्टिकको बाल्टी देखाउनु भयो । फेदमा खुट्टाले थिच्न मिल्ने । माथि बिर्को भएको। तल खुट्टाले थिच्यो भने बिर्को उघ्रने । थिचेन भने बिर्को लाग्ने । हेर्दा फोहोर फ्याल्ने डस्बिन जस्तो । कालो रङ्गको ।

केही हाल्दा १०/१५ केजीजति अट्ने क्षमताको। सड्नेगल्ने पातपतिङ्गर सङ्कलन गर्ने । अनि त्यहाँ हालेर कम्पोस्ट मल बनाउन थाल्नु भएछ । उभ्रेको सागसब्जी, भात र फलफूलको बोक्राहरु त्यहीँ हाल्नु हुँदो रहेछ । थाहा रहेछ । रासायनिक मलको अभाव नखट्किने रहेछ । त्यो उहाँको प्रयोगले ।

अब उहाँ मल बोक्ने रे । स्वदेश मै । विदेशमा होइन । आफ्नै छतबारीका गमलाबारीमा हाल्न । बाटाबारी र बाल्टीबारीमा आर्ग्यानिक सब्जी उत्पादन गर्न । नाम राखेको राम्रो लाग्यो । महामारीको करेसाबारी रे । गोबरमल र कपोष्टमल लगाउने रे ।

मल डोकैमा बोकेर हाल्ने रे । बोरामा होइन रे । मल बोकेपछि बोरामा किन बोक्ने ? डोकैमा बोक्ने नि । त्यसमा पनि स्वदेशमै बनेको डोकामा । काम सानोठूलो हुँदैन । सबै काम काम नै हो ।
काम गर्दा त खान पाइन्छ । लाउन पाइन्छ । कस्तो मज्जा लाग्छ । लु राम्रो । धन्यवाद !!