बाराको एक जनामा मृत्यु भएको आठ दिनपछि कोरोना पुष्टि

Newslaya Home

बाराको एक जनामा मृत्यु भएको आठ दिनपछि कोरोना पुष्टि

सोमबार १२, जेठ २०७७

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–७ का ७० वर्षीय वृद्धमा मृत्यु भएको आठ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भई अन्त्येष्टि गरिसकेका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिसकेका छन् । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन ।