धनकुटा अस्पतालमा ओपीडी सेवा सञ्चालन

Newslaya Home

धनकुटा अस्पतालमा ओपीडी सेवा सञ्चालन

सोमबार १२, जेठ २०७७

धनकुटा । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द भएको धनकुटा अस्पताल आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि जिल्ला अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेसँगै अस्पताल बाहिर टेन्ट टाँगेर ओपीडी सेवा सुचारु गरिएको छ ।

ओपीडी सञ्चालन गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सक सहित सात सदस्यीय टोली आएको छ । विशेष ओपीडी क्लिनिकमा निःशुल्क रूपमा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले बताए । अस्पतालभित्र भने प्रवेश निषेध गरिएको उनको भनाइ छ ।

धनकुटा अस्पतालमा लकडाउनकै समयमा पनि दैनिक ८० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिए । धनकुटामा ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ स्वास्थ्यकर्मीका परिवारका सदस्यसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच, धनकुटामा ८४ जनाको पीसीआर टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवारका सदस्य गरी ७ जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका पारिवारिक सदस्य गरी ८४ जनाको पीसीआर टेस्ट गरिएको हो ।

आइतवार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल धनकुटाका सूचना अधिकारी पोख्रेलले जानकारी दिए ।

स्वास्थ्य कार्यालय धनकुटाले शनिबार १७ जनाको स्वाब संकलन गरी आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू पहिचान गरी पीसीआर टेस्ट गर्न धरान पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईंले बताए ।