२ महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

Newslaya Home

२ महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

सोमबार १२, जेठ २०७७

वीरगन्ज । कोरोनाभाइरसबाट संक्रमित २ महिने शिशु र १० बालबालिकासहित १८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनबाट आइतबार राति ११ बजे एकै परिवारका १८ जना डिस्चार्ज भएका हुन् ।

आइतबार राति डिस्चार्ज हुनेहरुमा वीरगन्ज–३ छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।

उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि १७ जनालाई पनि बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

अस्पतालमा ल्याएर राखिएपछिको लगातार २ पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा कुनै समस्या पनि नदेखिएकाले उनीहरुलाई डिस्चार्ज गरी घर पठाइएको हो ।

यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ९ जनालाई डिस्चार्ज गरिएको थियो । अब भने वीरगन्जको आइसोलेसनमा अब ७१ जना मात्रै संक्रमीत उपचाररत रहेको मेसु उपाध्यायले जानकारी दिए ।

वीरगन्जको नारायाणी अस्पतालको आइसोलेसनमा ४४ र गण्डक हस्पिटलको विशेष कोरोना अस्थायी अस्पतालमा २७ जना संक्रमितहरु उपचाररत छन् ।