नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

Newslaya Home

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

आइतबार ११, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय नाघेको छ । आइतबार थप १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६०३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये ५२४ पुरुष र ७९ महिला रहेको बताइएको छ।

आइतबार नयाँ जिल्ला नुवाकोट थपिएपछि नेपालभर गरी ४२ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् ।

आइतबार थपिएका सङ्क्रमितहरू केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, विराटनगर र भैरहवास्थित प्रयोगशालाको परीक्षणमा पुष्टि भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा अनुसार आइतवार अपरान्हसम्म ४८ हजार ८ सय १५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा २,८५६ नमुनाको पीसीआर र ३,७९१ नमुनाको आरडीटी विधिबाट परीक्षण गरिएको डा.देवकोटाले जानकारी दिए ।

सङ्क्रमण देखिएका मध्ये ८७ निको भएर घर फर्किएका छन् ।