भारतको क्वारेन्टिनमा एक नेपालीको मृत्यु

Newslaya Home

भारतको क्वारेन्टिनमा एक नेपालीको मृत्यु

शनिबार १०, जेठ २०७७

बुटवल । रुपन्देहीको सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएर फर्किएका स्याङ्जाका हरिनास गाउँपालिका–२ चिसापानीका करिब ३४ वर्षीय युवाको शनिबार मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टिनमा राखिएका ती युवाको शनिबार मृत्यु भएको हो ।

उक्त क्वारेन्टिनमा भारतका विभिन्न स्थानबाट आएका १ सय ३० भन्दा बढी नेपाली रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । क्वारेन्टिनमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारको लागि लगिएको थियो ।

अस्पतालबाट क्वारेन्टिन लगेलगत्तै उनको मृत्यु भएको बताइएको छ । प्रहरी निरीक्षक पोखरेलका अनुसार मृतकको स्वाब परीक्षण गरी कोरोना संक्रमण पुष्टि भए भारतमै अन्त्येष्टि गरिने र अन्य कारणले मृत्यु भएको पाइए पोष्टमार्टमपछि नेपाल ल्याएर आफन्तलाई शव बुझाइने छ ।