सङ्खुवासभाबाट काठमाण्डौ पठाइएकी सुत्केरीको उपचारको क्रममा मृत्यु

Newslaya Home

सङ्खुवासभाबाट काठमाण्डौ पठाइएकी सुत्केरीको उपचारको क्रममा मृत्यु

शनिबार १०, जेठ २०७७

सङ्खुवासभा । सङ्खुवासभाबाट सेनाको हेलिकप्टरमार्फत गरि काठमाण्डौ पठाइएकी सुत्केरीको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाण्डौको थापाथली प्रसूति गृहमा उपचारको क्रममा खाँदबारी नगरपालिका ६ घर भएकी ३२ वर्षीया गंगा कार्कीको शुक्रबार राति ज्यान गएको हो ।

प्रसव पीडाले च्यापेपछि गएको ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुनालाई भर्ना भएकी कार्कीलाई नोबेल अस्पताल विराटनगर रिफर गरिएको थियो ।

नोबेल अस्पतालले कार्कीको पेटबाट मृत शिशुलाई अप्रेशन गरेर बाहिर निकालेपछि दुई हप्तासम्म अस्पतालमा नै आराम गरेर बस्न भनिएको थियो । कार्की परिवारिको अवस्था दयनीय भएकाले खर्च धान्न नसकेको भन्दै ८ गते घर फर्किएका थिए ।

घर आएपछि सिकिस्त बिरामी परेकी सुत्केरीलाई शुक्रबार बिहान खाँदबारी अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी अवस्थामा रहेकी कार्कीको उच्च रक्तचाप र अर्धचेत अवस्थामा रहेकाले शुक्रबार जिल्ला अस्पतालले काठमाण्डौ रिफर गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुन्दरश्याम झाले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यको पहलमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरी थप उपचारको लागि उनलाई काठमाण्डौ पठाइएको थियो ।

उपचारको क्रममा कार्कीको ज्यान गएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले जानकारी दिए । उनकोको शवलाई सङ्खुवासभा नै ल्याउने तयारी भइरहेको जनाइएको छ ।