हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारीकी सुत्केरीको मृत्यु

Newslaya Home

हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारीकी सुत्केरीको मृत्यु

शनिबार १०, जेठ २०७७

खाँदबारी । हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ ।

थप उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो । उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो ।

उनीलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् ।