चतरामा कृष्णदासले बनाएको भवनलाई क्वारेन्टाइन बनाउने निर्णय

Newslaya Home

चतरामा कृष्णदासले बनाएको भवनलाई क्वारेन्टाइन बनाउने निर्णय

‘राज्यमा संकट परेको बेला हामीसँग भएको सम्पत्ती उपलब्ध गराएका हौं’ : सेवापिठ
शनिबार १०, जेठ २०७७

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र १ चतरामा रहेको रामानन्दचार्य सेवापिठको हलमा जिल्लास्तरीय क्वारेन्टाइन बनाइने भएको छ । सेवापिठको योगा हलमा २ सय बेडको क्वारेन्टाइन बनाउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मागेपछि स्थानीयहरुको भेलाबाट उक्त भवन दिर्ने निर्णय गरेको सेवापिठको अध्यक्ष गणेश सुव्वा बिरहीले बताए । यो सेवापिठका संरक्षक कृष्णदासजी महाराज बलात्कार आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार सुनसरीमा छन् ।

बिरहीका अनुसार हलका साथै नजिकै रहेको ६० कोठाको एउटा भवनसमेत प्रयोग गर्न दिने निर्णय गरिएको छ । सेवापिठका ४०/४५ जना भक्तहरु बसिरहेको भवनमध्ये ६० कोठाको एउटा बिल्डिङमा डाक्टर र सुरक्षाकर्मी बस्न दिने निर्णय गरेको उनले न्युजलयलाई बताए । अहिले त्यहाँ तीन वटा भवनमा जम्मा १ सय ३२ ओटा कोठा छन् ।

प्रशासनले सुरक्षाको व्यवस्था गर्ने भएपछि आफूहरुले भवन उपलब्ध गराउने भएको उनले बताए । ‘हामीले क्वारेन्टाइनको प्रस्ताव आउने बित्तिकै पहिलो सुरक्षाको राम्रो व्यवस्था हुन्छ भने मात्रै दिन्छौ भनेका छौँ,’ उनले भने, ‘खानेपानी र विद्युतको असुविधा रहेको बताउँदा सुनसरीका प्रमुख जिल्ला अधिकारीले आफै व्यवस्था गर्ने बताएका थिए ।’

योगाहलमा ३/४ सय मानिस अट्ने अनुमान गरिएको छ । उक्त हलमा योग तथा साधनाका ठूला कार्यक्रमहरु हुने गरेका छन् ।

बराहक्षेत्र १ का वडाध्यक्ष सुरेस मान श्रेष्ठले योगा हललाई पाटेशन गरेर मापदण्ड अनुसारको क्वारेन्टाइन बनाइने बताए । जिल्लास्तरीय क्वारेन्टाइन बन्ने र डाक्टर र सुरक्षाकर्मी सहित मापदण्डअनुसार बन्ने वाड नं.२ का वडाध्याक्ष हरिकृष्ण भट्टराईले वताए ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलले भने नगरको समन्वयमा प्रदेश र जिल्ला क्वारेन्टाइन बनाउने बताए । यसअघि बराहक्षेत्र नगरपालिकाले नगरका तीन वटा सामुदायिक स्कुलमा क्वारेन्टाइन बनाउने निर्णय गरि सकेको छ ।

बाबुराम कार्की