कोरोना उपचारको लागि क्षमता दोब्बर बनाउँदै प्रदेश १ सरकार, दैनिक हजार जनाको परीक्षण

Newslaya Home

कोरोना उपचारको लागि क्षमता दोब्बर बनाउँदै प्रदेश १ सरकार, दैनिक हजार जनाको परीक्षण

शनिबार १०, जेठ २०७७

विराटनगर । प्रदेश १ मा कोभिड—१९ को उपचार गर्ने अस्पतालको क्षमता विस्तार गर्ने तयारी गरिएको छ । शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले सोसम्बन्धि योजना बनाएको छ ।

बैठकले कोसी अस्पताल अन्तरगत रहेको ५० बेडको कोभिड १९ उपचार केन्द्रको क्षमता बढाएर एक सय बेड पुर्याउने र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक सय बेड क्षमताको आइसोलेशन वार्डलाई तीन सय बेडमा विस्तार गरिने भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा स्वाब परीक्षण गर्ने थप दुई वटा पिसिआर ल्याब संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रदेश १ मा पिसिआर ल्याबको क्षमता विस्तार गरेपछि दैनिक एक हजार जनाको परीक्षण गर्नसकिने छ ।

लकडाउन दुई महिना पुरा हुन लाग्दा प्रदेश १ मा अहिलेसम्म साढे तीन हजार जनाको स्वाब मात्रै परीक्षण भएको छ । पछिल्लो पटक परीक्षणको दायरा बढ्दा भारतीय सीमासँग जोडिएका झापा, मोरङ र सुनसरी जिल्लामा संक्रमित भेटिने क्रममा बढ्दै गएको हो ।

सरकारले भारतबाट स्वदेश फर्कने नेपालीहरुको लागि इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ एरिया बनाउने जनाएको छ । होल्डिङ्ग एरियाको बेड संख्या इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार गरी कुल १५ हजार रहने अनुमान छ । त्यसमध्ये यसअघि नै १० वटा स्थानमा १ हजार १ सय ३ वटा बेड भने तयारी भइरहेको सरकारको दाबी छ ।