धनकुटा बजार क्षेत्रमा लगाइएको सिल हटाइयो

Newslaya Home

धनकुटा बजार क्षेत्रमा लगाइएको सिल हटाइयो

शुक्रबार ०९, जेठ २०७७

धनकुटा । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले धनकुटा बजार क्षेत्रमा लगाएको सिल हटाएको छ ।

जिल्लास्तरको कोभिड–१९ कमाण्ड फोर्सको शुक्रबार बसेको बैठकले चार किल्ला कायम गरि बजार क्षेत्रमा लागेको सिल हटाउने निर्णय गरिएको सदस्यसचिव तथा सूचना अधिकारी जयाराम श्रेष्ठले बताए । संक्रमित व्यक्तिलाई विराटनगरस्थित अस्पताल पठाइएको र नेगेटिभ आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको कारण बजार क्षेत्रको सिल हटाउने निर्णय भएको उनले बताए ।

सदरमुकामको मुख्य क्षेत्र, दैनिक उपभोग्य सामाग्रीका पसल रहेको, औषधी पसलहरु अस्पताल आसपास पाइने हुँदा तथा स्थानीयबाट जनगुनासो बढेपछि अस्पतालको सिल कायम राखि बजार क्षेत्रको सिल हटाइएको उनको भनाई छ ।

सिल हटाइए पनि स्थानीय प्रशासनले लागू गरेको टाइम कार्ड अनुसार बजार क्षेत्रका पसल खुल्नेछन् ।

धनकुटा अस्पतालभित्र क्वाटरमा बसेकालाई यथास्थानमा क्वारेन्टाइन खडा गरि राखिएको छ । सुरक्षाकर्मीलाई भने धनकुटा–६ आत्मारा स्थित औद्योगिक ग्राममा रहेको क्वारेन्टाइनमा राखिएको छ ।