इटहरीबाट लुकिछिपी कैलाली पुगेका सहचालकमा कोरोना भेटियो

Newslaya Home

इटहरीबाट लुकिछिपी कैलाली पुगेका सहचालकमा कोरोना भेटियो

‘पुर्याउने ट्रक इटहरी नै फर्किएको थियो’
शुक्रबार ०९, जेठ २०७७

इटहरी । कैलालीमा शुक्रबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक जना इटहरीबाट त्यहाँ पुगेको खुलेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ र ७ का उनीहरु मध्ये एक जना इटहरीबाट पुगेको खुलेको हो । अरु दुई जना भने भारतको महाराष्ट्र र नेपालगञ्जबाट कैलाली पुगेको प्रहरीले जानकारी दिएको छ । कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षे युवकमा कोरोना देखिएको हो ।

प्रहरीले उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको खोजी सुरु गरिसकेको जनाएको छ।

जानकी गाउँपालिकाका अनुसार ट्रकमा सहचालकको काम गर्ने एक संक्रमित ब्यक्ती सुनसरीबाट खाद्यान्न लोड गरी पुगेको ट्रकबाट त्यहाँ पुगेका थिए । उनी वैशाख ३० गते लम्की उत्रिएको बताइएको छ । उनलाई लिएर गएको ट्रक कन्चनपुरको महेन्द्रनगर पुगी पुनः इटहरी फर्केको थियो ।

यस्तै भारतबाट आएका संक्रमित जेठ १ गते कैलालीको कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए ।

यस्तै नेपालगञ्जबाट जेठ ३ गते अर्का युवक गाउँपालिका पुगी आफ्नो घर जाँदै गर्दा बाटोबाटै क्वारेन्टाइनमा राखिएका थिए ।