खोटाङमा एक महिला आफ्नै घरमा मृत फेला

Newslaya Home

खोटाङमा एक महिला आफ्नै घरमा मृत फेला

शुक्रबार ०९, जेठ २०७७

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलमा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

शुक्रबार बिहान घाँटीको दायाँ भागमा सामान्य चोट लागेको अवस्थामा ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी हुन् ।

दुई छोरीको विवाह भइसकेको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीकोको हत्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।

छिमेकीलाई हेर्न पठाउँदा महिला मृत फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । सिम्पानीतर्फ जाँदै गरेका मुकेशलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

गएराति घाँटी थिचेर उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका मुकेशले मान्छे मारेर आएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिए ।

महिला हत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।