झापामा सीमाको प्रहरीमाथि भारतीयको आक्रमण

Newslaya Home

झापामा सीमाको प्रहरीमाथि भारतीयको आक्रमण

शुक्रबार ०९, जेठ २०७७

झापा । झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेको छ ।

शुक्रबार बिहान चमारभिट्टास्थित सीमामा खटिएका सशस्त्र प्रहरी र सीमावर्ती भारतीय नागरिकबीच विवाद हुँदा सशस्त्र प्रहरीका एक हवल्दारलाई भारतीय नागरिकले बाँसको लट्ठीले प्रहार गरेका हुन् ।

भारतको किसनगन्ज जिल्लाको जिलाबारी बस्तीका २५ वर्षीय युवकले दशगजा कटेर गाईबस्तु बाँधेपछि नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु नबाँध्न आग्रह गरेका हुन् ।

सोही क्रममा भारतीय नागरिकले आक्रमण गरेपछि सशस्त्रका हवल्दारले प्रतिकार गर्दा कानमा चोट लागेको हो । भारतीय नागरिकलाई पनि चोट लागेको स्थानीय बोलोराम राजवंशीले जानकारी दिए ।

घटना लगत्तै भारतीय बस्ती जिलाबारीबाट घरेलु हतियारसहित करिब एक सयको संख्यामा मानिसहरू नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न दशगजातर्फ आएपनि नजिकै रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले उनीहरूलाई तितरबितर पारेको जनाइएको छ ।

सीमा क्षेत्रमा रहेका दुवै देशका सुरक्षाकर्मीबीच छलफल भई समस्या समाधान गरिएको सशस्त्र प्रहरीका एसपी रमेशकुमार थक्सुले बताए । ६ दिनअघि पनि कचनकवल–१ को झन्डुबस्तीमा स्थापित सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए ।