कोरोना संक्रमितको शव ३१ घण्टापछि उठाइयो

Newslaya Home

कोरोना संक्रमितको शव ३१ घण्टापछि उठाइयो

शुक्रबार ०९, जेठ २०७७

भैरहवा । कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका पुरूषको शव ३१ घण्टापछि उठाइएको छ ।

रुपन्देहीको क्रिमसन अस्पतालको आईसीयू कक्षमा बिहीबार बिहान मृत्यु भएको पुरुषको शव शुक्रबार दिउँसो नेपाली सेनाले उठाएको हो ।

नेपाली सेनाको प्राविधिक टोलीले शव र्‍यापिङ गरी शववाहनमा राखेर अस्पतालबाट निकालेको हो । मृतकको परिवारले अस्पतालको लापरवाहीले उनको मृत्यु भएको आरोप लागएका थिए ।

कोरोना पोजेटिभ देखिएपछि उनको उपचार नगरेको भन्दै बिहीबार छानबिनको मागसमेत राखेका थिए । आज शव व्यवस्थापनका लागि तयार पारिएको कागजमा सेनाको टोलीले हस्ताक्षर गर्न भनेपछि मृतकको परिवारले केही नभनी हस्ताक्षर गरेका थिए ।

जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका पुरुषमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । उनको स्वाब पुनः पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ ।

उनको उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जनामध्ये १९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।