भारतको अफवाह चिर्न हिन्दी र अंग्रेजी भाषाका कार्यक्रम आवश्यक

Newslaya Home

भारतको अफवाह चिर्न हिन्दी र अंग्रेजी भाषाका कार्यक्रम आवश्यक

- भानुभक्त आचार्य
शुक्रबार ०९, जेठ २०७७

कोरोनाको कहरबीच नेपाली पत्रकारले नेपाल–भारतको द्विपक्षीय सवालमा विभिन्न स्वदेशी–विदेशी विद्वानहरुलाई जुटाएर गरेको यो एउटा दुर्लभ छलफल कार्यक्रम हो ।

रवि लामिछानेले सधैं नेपाली भाषामा प्रस्तुत गर्ने ‘सीधाकुरा जनतासँग’ कार्यक्रमलाई विषयवस्तुको अन्तर्राष्ट्रियकरणका लागि अंग्रेजीमा चलाएका छन् । नेपालका तीनजना र भारतका एसडी मुनीसहित तीन जना विद्वानहरुलाई नेपाल–भारत सीमा विवाद विषयक बहसमा सहभागी गराएका छन् । नेपालका द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय मुद्दाहरुमा सम्बन्धित देशकै विज्ञहरुलाई इन्टरनेट प्लाटफर्ममार्फत् सहभागी गराएर विषयवस्तुमाथि गहन छलफल चलाउने यो सिलसिला जारी रह्यो भने यसले नेपाली पत्रकारिता इतिहासमा दूरगामी अर्थ राख्नेछ ।

विगतमा पनि विदेशी पाहुनाहरुलाई नेपाल आएका बखत वा पत्रकारहरु नै कुनै सिलसिलामा विदेश गएका बेला विभिन्न मुद्दामा अंग्रेजीमा अन्तर्वार्ताहरु नलिइएका होइनन् । त्यस्तै इन्टरनेटको प्रयोगबाट विदेशमा रहेको वक्तालाई नेपाली टेलिभिजनमा बोल्न लगाइएको पनि पहिलो पटक होइन । तर, नेपाल–भारत सीमा विवाद होस् वा २०७२ को भुइँचालो होस् वा चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नै किन नहोस् । यस्ता विषयलाई भारतीय मिडियाले ‘पिप्ली लाइभ’ शैलीमा जसरी तथ्यहीन आरोपहरु लगाउँदै नेपालको छवि धमिल्याउने प्रयास गरेका छन् ।

त्यो आरोपको भूमरीलाई चिर्न पनि नेपाली टेलिभिजनमा अंग्रेजी भाषामा समाचार मात्रै होइन, विभन्न छलफल र बहसहरु सञ्चालन गरिनु आवश्यक छ ।

भारतका केही टेलिभिजन च्यानलहरुले मोदी सरकारको प्रवक्ताभन्दा पनि बढी जस्तो गरेर नेपाल र नेपालीका लागि घृणित शब्द र अफवाहहरु फैलाइरहेका छन् । यस्तो बेलामा अंग्रेजीमै तथ्यपरक, शालीन र शीर्ष छलफलहरु चलाउन सकियो भने विषयवस्तुको अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुग्छ । भारतीयलाई नै विषयवस्तु बुझाइ त्यहाँको सरकारलाई सकारात्मक पहलका लागि दबाब दिन सकिन्छ । विदेशीहरुका लागि पनि अंग्रेजी भाषामा सम्बन्धित देशका विज्ञहरुलाई राखेर गरिएका यस्ता कार्यक्रमले निकै अर्थ राख्छ ।

२०७२ को भुइँचालोका बेला हाम्रा मिडियाहरुमा पनि क्षति पुगेकाले पर्याप्त तयारीका साथ यस्ता कार्यक्रमहरु गर्न सकिएन । परिणामस्वरुप, भारतीय मिडियाले जे भने, अन्तर्राष्ट्रिय जनमत पनि त्यसैअनुसार बन्दै गयो । अन्ततः नेपालबाट #GoBackIndianMedia भन्ने अभियान नै चलाउन पर्यो ।

बुद्ध नेपालमा जन्मेका हुन् भनेर पुष्टि गर्न नेपालीहरुको निकै श्रम, पसिना, ऊर्जा, समय, बजेट खर्च भएको छ । तर, भारतले लुम्बिनी नजिकै भारतपट्टि अर्को कपिलवस्तु खडा गरेर नक्कली लुम्बिनी बनाइरहेको छ । हामीले चिच्याएको विश्वले अझै सुनेको छैन । धेरै देशमा अहिले पनि बुद्ध भारतका राजकुमार थिए भनेर पढाइ हुन्छ ।

कहिले सगरमाथा चीनले मेरो मात्रै हो भन्दिन्छ, कहिले कञ्चनजंघा भारतमा पर्छ भनेर भारतीय मिडिया फलाक्दै हुन्छन् ।

यस्ता अनेक मुद्दाहरु छन्, जसलाई हामी अन्तर्राष्ट्रियकरण गर्न चाहन्छौं तर भइरहेको हुँदैन । यसका राजनीतिक र कूटनीतिक प्रयास बाहेक आमसञ्चारका मिडियाको प्रयोग एउटा सशक्त उपाय हो । अझ सम्बन्धित देशका विज्ञहरुले नै पत्याउने गरी हामीले हाम्रो कार्यक्रमको गरिमा बढाउन सक्यौं भने त्यो अझै गतिलो उपलब्धि हो ।

नेपालका द्विपक्षीय मुद्दा, अन्तर्राष्ट्रिय सरोकार र चासोहरुलाई अन्तर्राष्ट्रिय करण गर्न, विषयवस्तुमा तथ्यपरक छलफल चलाउन पनि यस्ता बहसहरु हुन जरुरी छ । नेपालका प्रस्तोताहरुले पनि अस्तिको एउटा बहसमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालको जस्तै गरी इँटको जवाफ इँटले नै दिनु पर्ने हुन्छ ।

सञ्चारकर्मी रवि लामिछानेको यो कार्यक्रम नेपाल–भारत सिमा विवादलाई टेलिभिजनमार्फत् अन्तर्राष्ट्रियकरण गर्ने एउटा सुरुवाती प्रयास हो । युवराज घिमिरे लगायत नेपालमा धेरै पत्रकारहरु छन्, जो अंग्रेजी र हिन्दी भाषामा तर्क र तथ्यसहित विषयवस्तुमा गज्जबले बोल्न सक्छन् । यस्ता सयौं कार्यक्रमहरु टेलिभिजन र अनलाइन च्यानलहरुले पनि गर्नु आवश्यक छ ।

नेपाल टेलिभिजनले अंग्रेजी भाषामै Ntv world चलाउने तयारी गरिरहेको छ । अहिले भारतका मिडियाको अफवाह हेर्दा धेरैभन्दा धेरै टेलिभिजनहरुले नेपालका अन्तर्राष्ट्रिय सवालहरुमा केन्द्रित रहेर अंग्रेजीमा बहसहरु सञ्चालन गर्नु पर्ने देखिन्छ ।

नेपाली पत्रकारिता भारतीय ‘पिप्ली लाइभ’ शैलीको पत्रकारिताभन्दा अब्बल छ भन्ने सन्देश दिनका लागि यो एउटा अवसर पनि हो ।

(आचार्यको फेसबुकबाट साभार)