विश्वभर एकै दिन १ लाख ५ हजार नयाँ संक्रमित थपिए

Newslaya Home

विश्वभर एकै दिन १ लाख ५ हजार नयाँ संक्रमित थपिए

शुक्रबार ०९, जेठ २०७७

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर दैनिक तिब्र रुपमा बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै धेरै एक लाख पाँच हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । विश्वका सबैजसो देशहरुले कोरोना नियन्त्रणका लागि गरेका अनेकौं प्रयासका वावजुद पनि संक्रमितको संख्या नियन्त्रणमा आउन सकेको छैन । कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अघिल्ला केही हप्ताको तुलनामा बढेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् । केही हप्ता यता दैनिक थपिने संक्रमितको संख्या एक लाखभन्दा कम रहने गरेको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या अघिल्ला दिनहरुको तुलनामा बढेको हो ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा तीन लाख ३४ हजार मानिसको ज्यान गइसकेको छ । यस्तै, आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको वल्र्डओमिटरले जनाएको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ । तुलनात्मक रुपमा कम विकसित अफ्रिकी देशमा कोरोना संक्रमण कम देखिएको छ । अमेरिकामा ९६ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

बेलायतमा ३६ हजार ४२, इटलीमा ३२ हजार ४८६, फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, ब्राजिलमा २० हजार ४७ ले संक्रमितको मृत्यु भइसकेको छ । ४६ हजार भन्दा धेरै संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।