विराटनगरमा बाबुको हत्या गरी गाडेको आरोपमा दुई छोरा पक्राउ

Newslaya Home

विराटनगरमा बाबुको हत्या गरी गाडेको आरोपमा दुई छोरा पक्राउ

बिहीबार ०८, जेठ २०७७

विराटनगर । मोरङको विराटनगरबाट आफ्नै बाबुको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

कोदालो प्रहार गरी आफ्नै बाबु विराटनगर–१४ झटिहाहीका ६९ वर्षीय सिताराम चौहानको हत्या गरेको आरोपमा २९ वर्षीय रोहित चौहान र २६ वर्षीय नागेन्द्र चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।

उक्त घटनाबारे प्राप्त विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले मृतकको घरभित्र कोठामा खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा सिताराम शव फेला पारेको हो । घटनास्थलबाट प्रहरीले कोदालो १ थान र शव बेरिएको तन्ना १ थान बरामद गरेको छ ।

दुवै दाजुभाइ रोहित र नागेन्द्रले जेठ ३ गते मजदुरी गरेको ज्याला प्राप्त भए पश्चात केही कपडा किनेर मादक पदार्थ समेत सेवन गरी घर पुगेपछि सितारामले जेठो छोरा रोहितसँग पैसा माग्दा नदिएको बिषयमा झगडा हुँदा दुबै जनाले बाबुलाई पालैपालो गरी कोदालोले टाउकोमा प्रहार गरेको खुल्न आएको छ ।

घटना पश्चात नागेन्द्र सोही ठाउँस्थित हडताली हाटमा रहेको आफ्नो डेरा कोठातर्फ गएको र रोहित सोही घटना भएको घरमा सुतेकोमा भोलीपल्ट बिहान दुवै जना मिलेर खाटमुनी खाल्डो खनी बाबुको शव गाडेको खुल्न आएको छ । दुवै जना विरुद्ध ज्यानसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।