‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रम रोक्न प्रदेश २ को सरकारलाई पत्र

Newslaya Home

‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रम रोक्न प्रदेश २ को सरकारलाई पत्र

बिहीबार ०८, जेठ २०७७

जनकपुर । प्रदेश २ सरकारले विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग गरेको छ ।

मधेसी समुदायलाई होच्याएको भन्दै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन माग गरिएको हो ।

प्रदेश सरकारको लेटरप्याडमा न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै उक्त तीन कार्यक्रममा रोक लगाउन माग गरेका हुन् ।

चलचित्रमा सीमित व्यक्तिको रमाइलो तथा मनोरञ्जनका लागि कुनै खास वर्ग समुदाय (मधेसी) लाई शब्द, अभिनय र संकेतमार्फत होच्याउने, अपमान गर्ने र बेइज्जत गर्ने काम गरिएको हुँदा राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा खलल पुग्ने पत्रमा उल्लेख गरिएको छ ।

गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, मधेसी आयोग, महान्याधिवक्ताको कार्यालय, प्रेस काउन्सिल नेपाल र चलचित्र विकास बोर्डलाई बोधार्थ गरिएको पत्रमा जनताको संवैधानिक तथा कानुनी हकको संरक्षण गर्न यस्ता विभेदकारी कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन अनुरोध गरिएको छ ।