नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुग्यो, कहाँ कति थपिए ?

Newslaya Home

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुग्यो, कहाँ कति थपिए ?

बिहीबार ०८, जेठ २०७७

काठमाडौं । नेपालमा आज (बिहीबार) बिहान थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो ।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

नयाँ सङ्क्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एक जना पुरुषमा र धरानकी एकजना महिलामा सङ्क्रमण पुष्टी भएको बताइएको छ ।

प्रदेश १ को मन्त्रिपरिषदको कार्यालयका अनुसार नयाँ थपिएका झापाको कचनकवल गाउँपालिकाका १५ जना संक्रमितहरू सबै केही दिन अघि भारतबाट आएका हुन् ।

उनीहरू सबैलाई क्वारन्टीनमा राखिएको थियो । त्यहीँबाट स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो ।

नयाँ सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका विज्ञप्तिमा जनाइएको छ ।