मौसमी राष्ट्रवाद त्यागेर भूमी रक्षामा केन्द्रित बनौं

Newslaya Home

मौसमी राष्ट्रवाद त्यागेर भूमी रक्षामा केन्द्रित बनौं

– दुर्गा खरेल
बुधबार ०७, जेठ २०७७

यो देशले डा. के. आई. सिंहको प्रधानमन्त्रित्व कालदेखि किर्तीनिधि विष्ट, मरिचमान सिंह, कृष्णप्रसाद भट्टराई र शुशील कोइराला बाहेक खिलराज रेग्मीलाई छोडेर अरु सबै समर्पणवादी लेण्डुपे प्रधानमन्त्रीहरु मात्र भेट्टायो । अनि अहिले के.पी. ओलीलाई किन गाली गर्ने ?

डा. के.आई. सिंह, सुवर्ण सम्सेर, वि.पी कोइराला, डा. तुलसी गिरी, सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्र बहादुर चन्द, गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी शेरबहादुर देउवा, पुष्प कमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईसम्मलाई पहिला भारतीय सेनाले नेपाली भूमिमाथि अड्डा जमाएको त्यसपछि क्रमशः कालापानी, लिम्पियाधुरा, टनकपुर, आदिको विषयमा थाहा थिएन र ? यदि थाहा थिएन भने किन थाहा थिएन ?

थाहा थियो भने किन केही गर्न खोजिएन ?

प्रयास गरेर सकिएन भने के–के कारणले सकिएन भन्ने जानकारी नेपाली जनतालाई गराउनु पर्दैनथ्यो ?

आफू सत्तामा होउन्जेल चुप लागेर बस्ने, सत्ता बाहिर भएपछि वा चुनाव आएपछि स्यालको हुईयाँ मच्चाउने यी लेण्डुपे हैनन् र ?

अतः यिनै लेण्डुपे प्रधानमन्त्री तथा तिनका पालामा भएका विदेशमन्त्री अनि गृहमन्त्री को को थिए ?

तिनीहरुसँग पहिला आम नेपालीले मुलुकको अस्मितामाथि भएको बलात्कार र त्यसको विरुद्धमा अहिलेसम्म उनीहरुले के के गरे त्यसको हिसाब माग्नुपर्छ । र यिनीहरुलाई आइन्दा यो मुलुकको सार्वभौम सत्तामाथि एक शब्द पनि बोल्न दिनु हुँदैन । ता कि, फेरी यिनीहरुले मौसमी राष्ट्रवाद उरालेर आम जनतालाई दिग्भ्रमित बनाउन नसकुन् । मरेर जाने जति मरेर गए, बाँचेका सबैलाई जनताको कठघरामा उभ्याउनुपर्छ र सम्पूर्ण हिसाब किताब चुक्ता गर्नुपर्छ ।

अब प्रश्न रह्यो सरकार परिवर्तनको ।

ल के.पी. ओलीलाई फ्याँकेर कसलाई सत्तामा पुर्याउने त ? यिनै लेण्डुपेहरु मध्येको कुनै एकलाई ?

बरु जे सुकै भए पनि राष्ट्रियताका सवालमा केही खरा शब्दहरु बोलेका र अडान लिएका तथ्यहरुलाई मूल्यांकन गर्ने हो भने के.पी. ओली अरु लेण्डुपेभन्दा राष्ट्रवादका लागि धेरै अगाडि देखिए । अझै पनि ।

यसो भन्दैगर्दा ओलीलाई मैले दुधले नुहाएको, चोखो हो भन्न चाहीँ पटक्कै खोजेको होइन । उनका अघि पछि लाग्ने झोले र चम्चेहरुका कारण उनी धेरै ठाउँ चुकेका र निरिह बनेका छन् ।

निर्मला काण्डदेखि ७० करोडको काण्डसम्म आइपुग्दा धेरै काण्डै काण्डमा मुछिएका छन् ओली ।

दर्जन बढी लगत काम ओली आफैंले पनि गरिसके । यो सबैलाई जानकारी भएको विषय हो ।

प्रत्येक घटनामा उनको संलग्नता हुन्छ हुँदैन, भयो वा भएन त्यो अर्को बहसको विषय हो । तर उनी नेतृत्वमा भएका कारण उनले जवाफ दिनुपर्छ ।

उनी कायर त पक्कै होइनन् होला । अरु कुनै कारणबाट चुक्न र झुक्नु परेको हो भने ओलीले तीनकरोड जनतालाई साक्षी राखेर सबै कारणको पर्दाफास गर्दै नेपाली जनताको मन जित्ने काम गर्नुपर्छ । तत्पश्चात, राष्ट्र र राष्ट्रियताका लागि अर्थात राष्ट्रको अस्मिता रक्षाका लागि एकपटक र अन्तिमपटक विश्वास गरेर सबै जनताले उनलाई साथ दिनुपर्छ ।

मैले उनका धेरै अवगुणका बाबजुत पनि राष्ट्र र राष्ट्रियताका लागि केही गर्न खोज्ने एउटा नायक हुन् भन्ने आधारमा मात्र वकालत गर्न खोजेको हुँ । यसर्थ उनी सच्चिनुपर्छ र जनताको मन जितेर अगाडि बढ्नुपर्छ ।

यतिबेला सरकारसँग दुई तिहाई छ । पुष्पकमल दाहाल (प्रचण्ड) आफैं पनि विगतमा आफूबाट भएका कम्जोरीहरुलाई सच्याउँदै यहाँसम्म आइपुगेका छन् ।

पार्टी एकतादेखि आजसम्म आइपुग्दा दुई अध्यक्षबीच विभिन्न समय बिभिन्न विषयमा मनमुटाव भए होला । कसको कहाँ र कति कमजोरी भए भन्ने विषय पनि अहिलेलाई नऔंल्याउँ । तर, तितो सत्य अहिलेको सरकार र यो नेतृत्वबाट देशको शुरक्षा हुन सकेन भने कुनैपनि सरकारबाट हुँदैन ।

यो सरकारबाट पनि दर्जनौं गल्तिहरु भएको विषय म फेरी पनि दोहोर्याउँछु । तर, नियत बनाएर गल्ति गरेको हो वा होइन भन्ने सन्दर्भमा हामीले शुक्ष्म अध्ययन गर्नुपर्छ ।

सीमा विवादकै सन्दर्भमा यतिबला सरकारले नयाँ नक्सा सार्वजनिक गरेको छ । जब राष्ट्र, राष्ट्रियता र मातृभूमिको विषय आउँछ, त्यो समय सबै नेता र नेतृत्व एक ढिक्का भएर अघि बढ्नुको विकल्पै छैन ।

थोरै मात्रै भए पनि त्यसको सुरुवात भएको देखिन्छ ।

विगतमा ज–जसले गाल्ति गरेको भए पनि यतिबेला भूमी रक्षाको सवालमा समस्या समाधान गर्न भारतसँग वार्ता गर्नेदेखि अन्तराष्ट्रिय अदालतसम्म पुग्नुपरे पनि पुग्न पछि हट्नु हुँदैन । भारतले आफ्नो विस्तारवाद कायम गर्दै नेपाली भूमीमाथिको हस्तक्षेप निरन्तर अघि बढाएमा पुर्खाहरुले जस्तै युद्ध लड्न पनि पछि हट्नु हुँदैन ।

अहिलेको अवस्थामा सरकार र पार्टीभन्दा एक कदम माथि उठेर यो मुलुक र मुलुकीको अस्मितालाई सर्वोपरी ठान्दै अगाडि बढ्न खोजे के.पी. ओलीको नेतृत्व र प्रचण्डको साथ अनिवार्य छ । यो सरकारलाई सम्पूर्ण स्वार्थभन्दा माथि उठेर हामी सम्पूर्ण नागरिकले एक ढिक्का भएर साथ दिनुपर्छ ।

मेरो भनाईको तात्पर्य ओलीलाई बाहेक अरुलाई हामीले अघि बढाउन खोज्नु भनेको छिमेकीको कुकुरलाई आफ्नो काँधमा राखेर छिमेकीकै घरमा आक्रमण गर्न जानु सरह हो । किनभने त्यो कुकुर आफ्नो मालिक देखेपछि आफनो ज्यानको बाजी लगाएर हाम्रो काँधबाट उफ्रेर मालिकको सरणमा पुग्दछ ।

अब अर्को प्रश्न, यदि केपी ओलीले आफ्नो नाफाको जिन्दगी जनताको भावना बुझेर मुलुकको अस्मिता रक्षाका लागि बलिदान दिन चुके अथवा पछि हटे भने उनलाई पनि नेपालको अन्तिम लेण्डुपेको बिल्ला भिराएर डाँडो कटाउनु सिवाय अर्को विकल्प रहने छैन । ततः पश्चात तपाई हामी जुट्नुपर्नेछ, अरिङ्गाल बनेर ।

आगोको फिलिङ्गो बनेर ।

आँधी सृजना गर्दै यो देशको अस्तित्व रक्षाका लागि ।

अझै दर्जनौं छोराहरु यो मुलुकले जन्माएको छ । हामीले अनुभव पनि गरेका छौं । कि अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा जस्ता हाम्रा पुर्खाको रगत जसरी राष्ट्रभत्तिको भावनाले भकभक उम्लिएको थियो, त्यसैगरी अझै धेरै राष्ट्रभक्तहरुको नसा नसामा रगत भकभक उम्लिरहेको छ ।

हाम्रा अधिकांश नेतृत्वको सोच, व्यवहार र कार्यशैलीले टाउकोको टोपी र सिउँदोको सिन्दुर बन्धकी राख्नुपर्ने समय नआउला भन्न सकिन्न ।

अतः सम्पूर्ण राष्ट्रभक्त नागरिकहरु विगतका तिता–मिठा अनुभूतिबाट एउटा नयाँ पाठ सिक्दै यो देशको अस्मिता रक्षाका लागि अगाडि बढौं र गोल बन्द होऔं । नत्र हाम्रो अस्मिता समाप्त हुन धेरै समय लाग्ने छैन ।

जय देश । जय कालापानी ।।