भारत पस्यो अम्पुन आँधी, एक शिशुसहित तीन जनाको मृत्यु

Newslaya Home

भारत पस्यो अम्पुन आँधी, एक शिशुसहित तीन जनाको मृत्यु

बुधबार ०७, जेठ २०७७

काठमाडौं । बंगालको खाडीमा विकसित अम्पुन आँधी भारत पसीसकेको छ ।

आँधीका कारण पश्चिम बंगालमा दुई जना र ओडिसामा एक शिशुको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

स्थानीय पत्रकार प्रभाकर मणि तिवारीले बीबीसीलाई बताएअनुसार कोलकातामा ठूलो बताससिहत भारी वर्षा भइरहेको छ । घरका झ्याल भत्किएका छन् । उनले भनेका छन्, ‘तास यति शक्तिशाली छ कि अवस्था डरलाग्दो छ ।’

यस्तै ओडिसामा तेज गतिमा चलिरहेको आँधीले रुख तथा बिजुलीका खम्बा ढालेका छन् ।

ओडिसामा आँधीले घरको भित्ता भत्काउँदा चेपिएर तीन महिनाकी बच्चीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले त्यस क्षेत्रका बासिन्दा आतंकित र असुरक्षित भएका छन् ।

एनडीआरएफका महानिर्देशक एसएन प्रधानले अहिले अम्पुन आँधी जमिनमा ठोक्किन सुरु भएको बताएका छन् ।

उनका अनुसार पश्चिम बंगालका ५ लाख तथा ओडिसाका १ लाख ५८ हजार ६ सय ४० जनलाई सुरक्षित स्थानमा सारिएको छ ।