बराहक्षेत्रमा कोरोना पोजेटिभ देखिएका सशस्त्रको कन्ट्याक ट्रेसिङ यस्तो, क्वारेन्टाइन नै छैन

Newslaya Home

बराहक्षेत्रमा कोरोना पोजेटिभ देखिएका सशस्त्रको कन्ट्याक ट्रेसिङ यस्तो, क्वारेन्टाइन नै छैन

बाबुराम कार्की
बुधबार ०७, जेठ २०७७

प्रकाशपुर । बराहक्षेत्र नगरपालिका वार्ड नं. ११ मा मङ्गलबार कोरोना पुष्टि भएका सशस्त्र प्रहरीका सहायक हवल्दार हुन् । घर भने मोरंग हो ।

उनी कोसीटप्पु बन्यजन्तु आरक्ष तटबन्ध सुरक्षार्थ (कोसी प्रोजेक्ट) मधुवन हावइमलको पोष्टमा कार्यरत छन् । सहायक हवल्दारसँगै कार्यरत साथीको टेस्ट गर्न आइतबार विपी प्रतिष्ठान धरान पुगेका थिए । साथीको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनमा भने पोजेटिभ पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लकडाउन सुरु भएपछि उनी घर नगई बराहक्षेत्र १० प्रकाशपुरस्थित आफन्तको घरमा बस्दै आएका थिए । लकडाउन यता कोसी तटबन्ध हुँदै विभिन्न जिल्लाबाट आएका मजदुरहरुलाई उनी कार्यरत पोष्टमा रहेको टोलीले चेकजाच गरेको बताइएको छ ।

सुनसरीको उत्तरी क्षेत्रबाट तटबन्धको बाटो हुँदै आरक्ष भएर पूर्व पश्चिम राजमार्ग पुग्न लकडाउनको बेला धेरैले यो बाटो प्रयोग गर्ने गरेका थिए । उनमा कोरोना संक्रमणको पुष्टि भएसँगै पोष्टमा कार्यरत सबै जना सशस्त्र प्रहरी र उनका दुई जना आफन्तको पनि मङ्गलबार स्वाब संकलन गरिएको छ ।

उनी प्रकाशपुर आफन्तकोमा आएको र बजार पनि घुमेको बताइएको छ ।

बराहक्षेत्र नगरपालिकाले ११ नम्बर वार्डमा कोरोना पुष्टि भएपछि बुधबार (आज) देखि अर्काे सूचना नभए सम्मका लागि बराहक्षेत्र नगरपालिकाको १० र ११ नम्बर वार्डलाई शिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोख्रेलले बताए ।

नगरपालिकाले १० र ११ वार्ड सिल गरेको भएपनि मानिसहरुको आवतजावत बन्द भएको छैन ।

छैन क्वारेन्टाइन 

नगरपालिकाले क्वारेन्टाइन बनाउने निर्णय यसअघि नै गरिसकेको भएपनी अहिले सम्म बनाएको छैन । नगरपालिकाले क्वारेन्टाइन बनाउन पाँच ठाँउमा निर्णय गरेको थियो । तर क्वारेन्टाइन नबन्दा संक्रमणको शंका गरिएकालाई राख्ने ठाउँको अभाव छ ।

संक्रमित देखिएपछी भने नगरपालिकाले क्वारेन्टाइन बनाउन तदारुकता देखाएकोछ ।