कोरोना महामारी र कृषि क्रान्तिको अवसर

Newslaya Home

कोरोना महामारी र कृषि क्रान्तिको अवसर

- केशव तिमसिना
बुधबार ०७, जेठ २०७७

कोरोना महामारीबाट विश्व मानव सामु यो महामारीको रोकथाम कसरी गर्ने र भविष्यमा यसबाट पर्ने असरको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौती खडा भएको छ ।

आउने दिनहरु सहज छैनन् । किनकि हाम्रो दैनिक जीवनमा फेरबदल आउने, विश्व गार्हस्थ उत्पादनमा गिरावट आइ धेरै संरचना परिवर्तन हुने पक्का छ । यस्तै पारिवारिक संरचना र पारिवारिक तथा व्यक्तिगत सम्बन्ध उथलपुथल हुने, रेमिट्यान्समा आधारित आय र आयातमा आधारित उपभोग प्रणालीमा टिकेको हाम्रो अर्थतन्त्र खल्बलिने पक्का छ ।

विश्व रोजगारीमा कटौती हुने, २०–२५ लाख नेपाली युवाहरु घर फर्किने प्रभावबाट हाम्रो अर्थतन्त्रलाई कसरी बचाउने र समग्र व्यवस्थापन कसरी गर्ने भन्ने बारे तीन तहकै सरकारले समयमै सोच्न आवश्यक छ ।

मानव सभ्यताको विकास कृषि प्रणालीबाट सुरु भएको हो । अठारौं शताब्दीपछि भएको औद्योगिक क्रान्ति र विज्ञान तथा प्रविधिको विकासले सामाजिक तथा व्यक्तिगत जीवनमा महत्त्वपूर्ण प्रभाव पारे । यद्यपि मानिसका आधारभूत आवश्यकताको आधार भने कृषि नै हो । स्वास्थ्य पहिलो प्राथमिकता हो भने यसको आधार वा स्रोत कृषि उपज नै हो ।

समृद्धिका हाम्रा प्रमुख आधार कृषि, उmर्जा र पर्यटन नै हुन् । निकट भविष्यमा विश्व मानव जगत भ्रमण, अवलोकन, घुमफिर, मनोरन्जन छाडि सामान्य जीवन व्यवस्थापनमै केन्द्रीत हुने निश्चित छ । यस अवस्थामा पर्यटन क्षेत्र संकटमा पर्नेछ । हामीले समृद्धिको लक्ष्य हाँसिल गर्न उmर्जाको विकासमा निरन्तरता दिंदै राष्ट्रिय उत्पादकत्वको मुख्य आधार कृषिलाई प्रमुख प्राथमिकता दिनुपर्छ ।

जमिन किसानको पहूँचमा पुर्याउन बाँझो जग्गाको लगत लिई तिनको उपयोगीता बढाउने नीति अवलम्बन गर्न आवश्यक छ । उपभोगविहिन जमिनका धनीसँग स्थानीय तहबाट समन्वय गरी जग्गाको उपयोग गर्ने, भूमिको चक्लाबन्दीमा जोड दिने, बाँझो जग्गा राख्नेलाई अनिवार्य दण्डको व्यवस्था गर्ने, थोरै भन्दा थोरै जग्गामा पनि पारिवारिक करेसाबारी निर्माण गर्ने, भूमि बैंकको कानूनी व्यवस्था गरि कृषि मैत्री भूउपयोग नीतिको अवलम्बन गर्दै नवीन विज्ञान र प्रविधिलाई कृषि प्रणालीमा जोड्न आवश्यक छ ।

कृषि उत्पादकत्वमा वृद्धि गरि व्यापार घाटा कम गर्न सकिन्छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरमा रुपान्तरण गर्न सकिन्छ । कृषि व्यवसायको विकासले राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरि राष्ट्र र राष्ट्रियतालाई समेत सुदृढ बनाउन सकिन्छ ।

वैदेशिक रोजगारीका कारण हाम्रा परिवार तथा सामाजिक संरचनामा समस्या देखिईरहेका छन् । वृद्ध बाबू आमाबाट टाढा रहनु, छोराछोरीको प्रत्यक्ष देखरेखबाट बंचित हुने, यौवन जोडी बिछोडिने, सामाजिक सरसहयोग अनि मर्दापर्दा, खेतीपाती, पर्व, उत्सव आदिमा युवाशक्तिको अनुपस्थितिले हाम्रो सामाजिक सम्बन्ध खलबलिएक‍ो छ ।

यस अवस्थामा व्यवसायिक कृषि पेशा यसको विकल्प हुनसक्छ । साथै यसले छिन्नभिन्न हुँदै गएको पारिवारिक र सामाजिक सम्वन्धलाई पुनर्जीवित गर्न सक्छ ।

राजनीतिक दलमा आवद्ध बेरोजगार कार्यकर्ताहरुलाई कृषिजन्य स्वरोजगारमा आवद्ध गर्न सक्दा श्रमप्रतिक‍ो विश्वास सृजना भई निर्वाचनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्न सकिन्छ । भ्रष्टाचार र कुशासनको प्रमुख कारण भड्किलो र खर्चिलो चुनावी अभियानलाई सुधार गर्न सके भ्रष्टाचार न्यूनीकरण भई सुशासन कायम हुनसक्छ ।

संविधानले गरेको समाजवादउन्मूख राज्यको परिकल्पना साकार पार्ने आधार कृषि हुनसक्छ । सबैलाई राष्ट्रिय विकासको मूलप्रवाहमा ल्याई वर्गभेदरहित, शोषणमुक्त र समुन्नत समाज स्थापनाको शान्तिपूर्ण माध्यम कृषि र सहकारी हुन सक्छ ।

प्रकृतिले दिएको अनुपम उपहार भूमि, जैविक तथा पर्यावरणीय विविधता हाम्रा सम्पत्ति हुन् । यसको स्थानीय रुपमै उपयोग तथा परिचालन गरि कृषिका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सकिन्छ । साथै यसले जीविकोपार्जनको उपायलाई सुदृढ बनाउँदै स्थानीय आत्मनिर्भरतालाई समेत मद्दत गर्नसक्छ ।