नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि भारतीय मिडियाको आक्रोश

Newslaya Home

नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि भारतीय मिडियाको आक्रोश

बुधबार ०७, जेठ २०७७

काठमाडौं । बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडियाहरु खनिएका छन् । नेपालको नयाँ नक्साको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुले आक्रोश पोखेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि(ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्विट भारतीय एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेकी छिन्,’ सो टेलिभिजनले भनेको छ ।