पुर्वी नेपालमा अम्पुन आँधीको असर : बिहानैदेखी धुम्म र चिसो मौसम

Newslaya Home

पुर्वी नेपालमा अम्पुन आँधीको असर : बिहानैदेखी धुम्म र चिसो मौसम

बुधबार ०७, जेठ २०७७

काठमाडौँ । बंगालको खाडीमा बनेको अम्पुन आँधीको प्रभावले पुर्वी नेपालमा बिहानैदेखि धुम्म र चिसो मौसम भएको छ । तर यसको प्रत्यक्ष प्रभाव भने नपर्ने मौसमविदले बताएका छन् ।

अम्पुन आँधी अहिले पनि समुद्रमै छ, तर उत्तर पूर्व तर्फ तीव्र गतिमा बढी रहेको अम्पुन बुधबार अपराहन्न वा बेलुकासम्म जमिनमा ठोक्किने मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन् ।

मौसमविद कँडेलले भनिन्, ‘अम्पुन जति जति उत्तर पूर्व तर्फ बढ्दै जान्छ त्यति नेपालमा पनि प्रभाव देखिन्छ । तर यो आँधीको प्रत्यक्ष प्रभाव पर्ने होइन अर्थात अम्पुन आँधी नेपालसम्म आइपुग्दैन । भारतको पश्चिम बंगाल र सीमावर्ती बंगलादेशको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव रहन्छ ।’

अम्पुनको प्रभाव नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने देखिएको छ । यसका कारण सामन्यदेखि पूर्ण बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेष गरी बुधबार राति अम्पुनको प्रभावका कारण प्रदेश १ र २ तथा बागमती प्रदेशका काठमाडौँसहितका क्षेत्रमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले कँडेलले जानकारी दिइन् ।

अम्पुनका कारण नेपालमा भीषण वर्षाको सम्भावना नरहे पनि चट्याङ्ग तथा हावाहुरीबाट जोगिनका लागि सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।