सुनसरीका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि अन्य १५ जनाको स्वाब संकलन

Newslaya Home

सुनसरीका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि अन्य १५ जनाको स्वाब संकलन

बुधबार ०७, जेठ २०७७

इनरुवा । सुनसरीमा एक सशस्त्र प्रहरीमा कोरोना भाइरस पुष्टि भएसँगै उनी कार्यरत पोष्टका अन्य सबैको स्वाब परीक्षण थालिएको छ । बराहक्षेत्र नगरपालिकाको ११ नम्बर वडामा रहेको सशस्त्र प्रहरी पोष्टमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका अन्य १५ जनाको स्वाब संकलन गरिएको हो ।

संक्रमित पाइएका सशस्त्र प्रहरी रहेको पोष्ट कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र पर्दछ । कोशी गाउँपालिकाको पश्चिम कुशाहासँग जोडिएको सीमामा पर्ने उक्त पोष्ट रहेको स्थानलाई हावा महल भन्ने गरिन्छ । वडा अध्यक्ष केदार विष्टले सशस्त्र प्रहरी संक्रमित पाइएपछि जोखिम बढेको बताए । ड्युटीमा खटिने क्रममा सशस्त्रको टोली मधुवन बजार लगायतका क्षेत्रसँगै राहत वितरण लगायत कतिपय क्रममा सँगसँगै हिडेकाले समेत थप जोखिम थपिएको विष्टले बताए ।

सशस्त्र र जनपथ प्रहरी समेत धेरैजसो स्थानमा सँगै ड्युटीमा हिँडेकाले समेत थप जोखिम बढेको उनले बताए । वडा अध्यक्ष विष्टका अनुसार संक्रमित पाइएका सुरक्षाकर्मी प्रकाशपुर स्थित ससुराली घरसमेत आउजाउ गर्थे । संक्रमित सुरक्षाकर्मी केहि दिन अघि इटहरी हुँदै झापा तर्फ पुगेर आएको समेत सुन्नमा आएको विष्टले जानकारी दिए । यद्यपी ती कुराहरु कन्ट्याक ट्रेसिङ पश्चात बाहिर आउने उनले बताए ।