भारतले दशगजामा संरचना बनाउन खोजेपछि.....

Newslaya Home

भारतले दशगजामा संरचना बनाउन खोजेपछि.....

मङ्गलबार ०६, जेठ २०७७

काठमाडौं । पर्साको ठोरी गाउँपालिका–४ बिजय बस्तीको दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचना बनाउन खोजेपछि नेपालीले अवरोध गरेका छन् ।

दशगजा क्षेत्रभित्र भौतिक संरचना बनाउनका लागि भारतीय पक्षले गिट्टी, वालुवा ल्याएर संरचना बनाउन थालेपछि स्थानीयले रोक लगाएको नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले जानकारी दिए ।

दसगजा क्षेत्रभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नदिने भन्दै स्थानीय विरोधमा उत्रिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का इन्सपेक्टर सहितको टोलीले गल्ती स्वीकार्दै दसगजामा राखिएको निर्माण सामग्री त्यहाँबाट हटाउन सहमति गरेको जनाइएको छ ।

भारतको वन विभागको टोलीले त्यस क्षेत्रको सुरक्षाका लागि भन्दै एउटा टावर बनाउन लागेको हो । दशगजा क्षेत्र छाडेर भारतीय भूमिमा निर्माण गर्न भारतीय पक्षले सहमति जनाइसकेको सशस्त्र प्रहरी निरीक्षक सागर मल्लले जानकारी दिए ।

यस विषयमा थप छलफल गर्नका लागि भारतीय वन विभागको टोलीलाई बोलाइएको मल्लले बताए ।