सुनसरीका एक कोरोना संक्रमित युवासँगै आठ जना आएको खुलासा

Newslaya Home

सुनसरीका एक कोरोना संक्रमित युवासँगै आठ जना आएको खुलासा

मङ्गलबार ०६, जेठ २०७७

इटहरी । सुनसरीको एक कोरोना संक्रमित युवासगैं अन्य ८ जना पनि भारतबाट आएको खुलेको छ ।

गत बैशाख ३० गते नेपाल र भारतको सिमाना जोगबनीमा अलपत्र परेको भन्दै ५ जनाले गढी गाउँपालिका अध्यक्षलाई फोन गरेका थिए ।

फोन आएपछि आफै एम्बुलेन्स लिएर जोगवनी पुगि उनीहरुलाई लिएर आएको गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए । संक्रमित युवासगैं आएका आठै जनालाई दुई दिनसम्म गढी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

अनुसन्धानका क्रममा अन्य तिन जना अन्य ठाउँको खुलेको यादवले बताए । ८ मध्ये सुनसरी गढी गाउँपालिकाका ५ जना, धरानका एक जना, इनरुवा एक जना र मोरङ सुन्दरहरैंचा नगरपालिकाका एक रहेको जनाइएको छ ।

गढी गाउँपालिकामा आएका ५ जनाको कोरोना रिपोर्ट टेष्ट गर्दा ४ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ आएको हो । अन्य ठाउँका तीन युवालाई खोजी गरी कोरोना संक्रमित भए नभएको र उनीहरुको अवस्था बुझ्नका लागि सम्बन्धित पालिकाका प्रमुखलाई जानकारी गराएको गढी गाउँपालिका अध्यक्ष यादवले बताए ।

सुनसरीका संक्रमित युवाको घर भएको वडा नम्बर १ लाई सिल गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । संक्रमित युवालाई विराटनगर कोशी अस्पताल पठाइएको छ ।