झापामा दलित विद्यार्थी भर्ना नलिएपछि संस्कृत विद्यालयमा तालाबन्दी

Newslaya Home

झापामा दलित विद्यार्थी भर्ना नलिएपछि संस्कृत विद्यालयमा तालाबन्दी

मङ्गलबार ०६, जेठ २०७७

झापा । झापाको भद्रपुर ६ स्थित रहेको संस्कृत विद्यालय श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा तालाबन्दी गरिएको छ ।

इलाम नगरपालिका–५ बरबोटेका विकास कार्कीडोलीलाई गुरुकुलले भर्ना गर्न नमानेपछि शिक्षामा जातीय विभेद गरेको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले तालाबन्दी गरेको हो ।

गुरुकुलले दलित विद्यार्थी भर्ना लिन नमानेपछि जातीय विभेदको निष्कर्ष निकाल्दै बिहीबार तालाबन्दी गरेको संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले जानकारी दिए ।

विद्यार्थी संगठन र गुरुकुलका व्यवस्थापन पक्षबीच विद्यार्थी भर्ना गराउन छलफल भएको थियो । गुरुकूल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिएका छन् ।

समाधान निकाल्न छलफल गरिएपनि अध्यक्ष चापागाईले दलित विद्यार्थीलाई यहाँ पठन पाठनका लागि वातावरण बनाइएपनि सामाजिक रुपमा स्वीकार्य नहुने बताए ।
विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको अध्यक्ष चापागाईले बताएका छन् । छलफलमा विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियुका प्रतिनिधि सहभागी भएका थिए ।