नेपाली नक्सामा समेटियो कालापानी र लिम्पियाधुरा, नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिमि

Newslaya Home

नेपाली नक्सामा समेटियो कालापानी र लिम्पियाधुरा, नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिमि

मङ्गलबार ०६, जेठ २०७७

काठमाण्डौ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अब नक्सा नेपालको सबै किसिमका प्रशासनिक र सबै प्रबन्धमा प्रयोग गरिनेछ । सोअनुसार नेपाल सरकार, प्रदेश सरकारको लोगोमा भएको नेपालको नक्सासमेत सुधार गरिनेछ । विद्यालयमा पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सासमेत यसैअनुसार फेरिनेछ ।

नयाँ नक्सालाई संवैधानिक र कानुनी वैधता दिन सरकारले नेपालको संविधान, २०७२ को भाग ३ मा निशानी परिवर्तनका लागि छिट्टै संविधान संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गराउने तयारी गरेको छ ।

यसअघि भारतले लिम्पियाधुरा समेटेर आफ्नो नक्सा जारी गरेको थियो भने लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको थियो । देश तथा विदेशमा भारतको तीव्र विरोध भएसँगै नेपालले पनि आफ्नै नक्सा जारी गर्नुपर्ने माग उठेको थियो ।

सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो ।