कपिलवस्तुको क्वारेन्टाइनबाट भागेका ४६ जना नियन्त्रणमा

Newslaya Home

कपिलवस्तुको क्वारेन्टाइनबाट भागेका ४६ जना नियन्त्रणमा

सोमबार ०५, जेठ २०७७

बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित क्वारेन्टाइनबाट भागेकालाई प्रहरीले सोमबार बिहान क्वारेन्टाइनमै फिर्ता ल्याएको छ ।

यशोधरा गाउँपालिका–८ स्थित सरस्वति प्रावि खोरिया र राष्ट्रिय निमावि सिंहखोरमा रहेका दुईवटा क्वारेन्टाइनबाट शुक्रबार र शनिबार ४६ जना व्यक्तिहरु भागेका थिए ।

भारतका विभिन्न स्थानबाट लुकिछिपी आएका उनीहरुलाई स्थानीयको सहयोगमा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।

कमजोर सुरक्षा व्यवस्थाका कारण रातिको समयमा भागेका उनीहरुलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई पुनः क्वारेन्टाइनमा राखिएको चौकी यशोधराका प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिए । उनीहरू सबै लकडाउनको समयमा भारतबाट आएका थिए ।

उनीहरुमध्ये तीन जना महिलासहित ६ जना बालबालिका रहेकोले होम क्वारेन्टाइनमा रहेको र ३७ जनालाई भने पुनः सरस्वति प्राविकै क्वारेन्टाइनमा ल्याइएको घिमिरेले जानकारी दिए ।

यसअघि स्थानीय युवाहरूले सुरक्षा दिएकोमा अहिले भने २४सैं घण्टा प्रहरीले सुरक्षा दिनेगरी व्यवस्था गरिएको उनले बताए ।

यशोधरा गाउँपालिकामा हालसम्म १२ जना संक्रमित फेला परेका छन् । सो गाउँपालिकामा पनि बढी संक्रमित वडा नम्बर ८ मा पाँच जना छन् ।