डोरीले घाँटी थिचेर मारे, डाम छोप्न पाउडर लगाए

Newslaya Home

डोरीले घाँटी थिचेर मारे, डाम छोप्न पाउडर लगाए

सोमबार ०५, जेठ २०७७

इटहरी । विराटनगरमा औषधी व्यवसाय गर्दै आएका इटहरी १२ का देवीप्रसाद दुलालको हत्यामा संलग्न तीन जनालाई मोरंग प्रहरीले सार्वजनिक गरेको छ ।

योजनाकार श्रीमति मीना श्रेष्ठ दुलाल, उनको फार्मेसीबाट ५ महिना अघि निकालिएका उनका प्रेमी ब्रम्महदेव साह र शाहका भाई सोनु साहलाई सार्वजनिक गरेको हो ।

देवीप्रसादले साथीहरुसँग बसेर मदिरा खाएको रात उनको हत्या भएको पाइएको छ । रक्सी खाएर उनका साथीहरु घर लागेपछि श्रीमति मीनाले ब्रम्महदेवलाई फोन गरेर घर बोलाएकी थिइन् । ब्रम्महदेव भाई सोनुलाई लिएर मीनाको घर पुगेका थिए ।

ब्रम्महदेवले देवीप्रसाद सुतेको खाटमा गई नाइलनको डोरीले घाँटी थिचेका थिए । प्रतिकारका क्रममा झ्यालमा ठोकिएर चोट लागेको थियो ।
घाँटीमा डोरीको डाम छोप्न श्रीमतीले पाउडर दलिदिएकी थिइन् ।

रातको दुई बजे ब्रह्मदेव र सोनु घर फर्के । त्यसपछि मीनाले देवी प्रसादका साथीलाई श्रीमान सिरियस बिरामी भएको भन्दै बोलाइन् । एम्बुलेन्समा देवीप्रसादलाई लगेपछि श्रीमती मीना छिमेकीको मोटरसाईकलमा अस्पताल पुगेकी थिइन् ।
देवीप्रसाद र मीना बीच सानैदेखि चिनजान थियो । पेपर म्यारिज गरि दुवै डेनमार्क गएका उनीहरुले उतै बिहे गरेको र डेनमार्कबाट आएपछि बिराटनगरमा बसेर औषधी व्यवसाय सुरु गरेका थिए ।

ब्रम्महदेव पहिला उनको पसलमा काम गर्न बसेका थिए । ब्रह्मदेव र मीनाबिच हिमचिम बढेपछि देवीप्रसादसँग खटपट बढेको थियो ।
श्रीमति मीनाले पछिल्लो पटक ब्रम्हदेवसँगको निकटता श्रीमानलाई खुलेरै देखाउने गरेकी थिइन् । छुट्टा छुट्टै सुत्दै आएका उनीहरुबीच सोही विषयमा कुटाकुट नै पर्ने गरेको थियो ।

आफूविरुद्ध श्रीमतीले षड्यन्त्र गरिरहेको छनक पाएरै होला, उनले ११ दिनअघि फेसबुकमा मार्मिक स्टाटस लेखेका थिए । उनले लेखेका थिए, ‘कोरोनासंग लड्ने हो, डराउने होइन् । श्रीमतिसित डराउने हो लड्ने होइन । किनभने अहिलेसम्म दुइवटाकै औषधी आएको छैन । जनहितमा जारी सामाजिक सन्देश । शुभ दिन ।’