निर्देशनविपरीत बैंकका कर्मचारीलाई अनिवार्य हाजिरी

Newslaya Home

निर्देशनविपरीत बैंकका कर्मचारीलाई अनिवार्य हाजिरी

सोमबार ०५, जेठ २०७७

विराटनगर । लकडाउनको समयमा बैंक शाखाहरु एक तिहाई कर्मचारी रोटेसनमा बोलाएर खोल्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । तर एनआइसी एसिया बैंकले भने सबै कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण बैंकका शाखाहरु थोरै कर्मचारी बोलाएर खोल्न भनेपनि बैंकले भने सबै कर्मचारीलाई अनिवार्य हाजिरी गर्न भनेको बताइएको छ । राष्ट्र बैंकको निर्देशन विपरीत बैंकले हाजिरीका लागि बोलाएको भन्दै अन्य प्रतिष्पर्धी र्बैंक तथा एनआइसी एसिया बैंककै कर्मचारीहरुसमेत रुष्ठ छन् ।

एउटा शाखा साताको कति दिन खोल्ने भनेर व्यवस्था मिलाइएको छ । तर बैंकले सबै कर्मचारीहरुलाई हाजिर गर्न भन्दै सबै दिन अनिवार्य आउन भनेको छ ।
शाखा नखुलेको दिन कर्मचारीहरु भेला भएर मोबाइल चलाएर र गफ गरेर बस्ने गरेका छन् ।

बैंकका कर्मचारीहरु सबैसँग यातायातका साधन नहुने हुँदा झन् समस्या भएको अर्का एक कर्मचारीले गुनासो गरे ।

यता एनआइसी एसिया बैंक विराटनगरका प्रमुख सञ्जीव दाहालले भने विराटनगरमा त्यस्तो नभएको बताए । ‘अन्य ठाउँमा पनि त्यस्तो नहोला, किनकी हामी सबैलाई एउटै सर्कुलर आएको छ र त्यहीअनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसमाथि झन् आजदेखि कोरोना संक्रमित देखिएर सिल भएको छ ।’