कोरोना संक्रमित भेटिएसँगै धनकुटा बजार सिल

Newslaya Home

कोरोना संक्रमित भेटिएसँगै धनकुटा बजार सिल

सोमबार ०५, जेठ २०७७

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबार (आज)बाट धनकुटा बजार क्षेत्र सिल गरिएको छ ।

आइतबार राति आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

धनकुटाको सब्जीलाइन, बसपार्क, जिरोप्वाइन्ट, परिचयमोड, यलम्बर चोक, मधुगंगा सिनेमा हल र त्रिवेणी चोक क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

सिल गरिएको क्षेत्रमा आवागनम पूर्ण रुपमा निषेध गर्न नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइतबार गरिएको परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया नर्समा कोरोना संक्रमण पुष्‍टि भएको थियो ।

यसैबीच संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेशनमा रहेकी संक्रमितलाई आजै बिराटनगर स्थित कोरोना विशेष अस्पताल लैजाने तयारी थालिएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी जारी राख्दै उनीहरुको पीसीआर परीक्षण गर्ने तयारी समेत थालिएको छ ।