युनिटी लाइफका सञ्चालकको मृत्यु

Newslaya Home

युनिटी लाइफका सञ्चालकको मृत्यु

सोमबार ०५, जेठ २०७७

काठमाडौं । युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ ।

बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको अस्पतालका सञ्चालक लोक बहादुर टण्डनले जानकारी दिए ।

मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा ल्याइएको अध्यक्ष टण्डनले बताए । उनले भने, ‘मेडिसिटी उपचार गराइरहेका थिए, समस्या झन् झन् बढेपछि बिहीबारमात्रै क्षेत्रीलाई यहाँ ल्याइएको थियो । तर आइतबार बिहान ९ बजे उहाँको निधन भयो ।’

टण्डनका अनुसार उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो । सुरुमा मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि क्षेत्रीलाई ग्रिनसिटीमा ल्याइएको थियो । अस्पताल ल्याउँदा नै क्षेत्री होसमा नभएको टण्डनले बताए ।

अत्याधिक मदिरा सेवनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको टण्डनले बताए । पछिल्लो समय उनलाई जण्डिस भएको थियो । तर त्यही समयमा पनि उनले मदिरा सेवन गरेको कारण उनको कलेजो, मिर्गौला र मुटुमा समस्या देखिएको थियो । यी तीनै अङ्गले काम गर्न छाडेपछि आइतबार बिहान उनको मृत्यु भएको हो ।

बहुचर्चित युनिटी घोटाला काण्डको मुख्य अभियुक्त मानिएका विष्णु केही समय जेल समेत बसेका थिए । पिरामिड आकारको सञ्जाल बनाई रकम उठाएको र ३ लाख ४० हजार सदस्यबाट ३ अर्ब भन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेको भन्दै जिल्ला अदालत ललितपुरले क्षेत्री सहित १२ जनालाई जेल सजाय सुनाएको थियो ।