लकडाउनको समयमा पनि विराटनगरमा विकास निर्माणका काम हुँदै

Newslaya Home

लकडाउनको समयमा पनि विराटनगरमा विकास निर्माणका काम हुँदै

आइतबार ०४, जेठ २०७७

विराटनगर । लकडाउनको समयमा पनि विराटनगर महानगरमा बिकास निर्माणका कामहरु भइरहेका छन् । विराटनगर महानगरका मेयर भीम पराजुली, एडीबी प्रोजेक्टका टिम लिडर इन्जिनियर गिरिस चन्द, कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर रबिन्द्रकुमार ठाकुर लगायतको टोलिले नगरका विभिन्न क्षेत्रमा भएका निर्माणका कामको अनुगमन गरेको छ ।

लकडाउनका कारण केही दिन बन्द रहेको बिकास निर्माणका कामले तिब्रता पाएको छ । नगरका १२ स्थानमा सडक विस्तार र ढल निर्माणका काम सुचारु गरिएको छ । लकडाउनका कारण केहिदिन काममा अबरोध भए पनि सामाजिक दुरी कायम राख्दै बिकास निर्माणका कामहरु अगाडि बढाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

यस्तै प्रोजेक्टका कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर रबिन्द्रकुमार ठाकुरले लकडाउनमा बिकास निर्माणका काम गर्न सहज हुने बताए । व्यस्त सडकमा आवातजावतका कारण हुने समस्या लकडाउनको समयमा नहुने र काम गर्न सहज हुने उनको भनाइ छ ।

यस्तै मजदुर र काममा खटिने कर्मचारीले सहजरुपमा पास नपाउदा हुने प्रशासनिक जटिलता भने कायमै रहेको बताए । स्थानीय मजदुरहरुले रोजगारी पाइरहेको भन्दै ठाकुरले सहजताका लागी सबैको भूमिका आबश्यक रहेको बताए ।