विराटनगरका औषधि व्यवसायीको शंकास्पद मृत्यु

Newslaya Home

विराटनगरका औषधि व्यवसायीको शंकास्पद मृत्यु

आइतबार ०४, जेठ २०७७

विराटनगर । विराटनगरमा आइतबार बिहान एकजना औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरले अनुसन्धान अघि बढाएको छ ।

विराटनगर–१० मधुमाराका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार बिहान कोशी अस्पतालमा मृत्यु भएको हो । इटहरी–१२ खनार घर भएका ३३ वर्षीय दुलाल श्रीमती र ८ वर्षका छोरासहित भाडामा बस्दै आएका थिए। दुलालको देवी माँ पाथीभरा फर्मा नामको औषधि डिलर रहेको छ।

दुलालको मृत्युलाई स्वभाविक मान्न सकिने स्थिति नदेखिएकोले अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ताले जानकारी दिएका छन् । दुलाललाई बिहान सुतिरहेको अवस्थामा असहज भएपछि श्रीमती मीना, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्लेले उपचारका लागि कोशी अस्पताल पुर्‍याएका थिए।

प्रहरीका अनुसार मृतक दुलालको हात, घाँटी, नाक, र वायाँ आँखा छेउमा चोट लागेको छ भने घाँटीमा डोरीले कसेको डाम रहेको छ । दुलालको मुखबाट रगत बगिरहेको थियो। सुतेको ओछ्यानमा रगत लतपतिको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालाई शंकास्पद मान्दै दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायीहरु धनबहादुर काफ्ले र हरिमोहन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उनीहरु माथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिए।

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।