कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शिशुसहित ४ जनालाई आइसोलेसनमा राखियो

Newslaya Home

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शिशुसहित ४ जनालाई आइसोलेसनमा राखियो

आइतबार ०४, जेठ २०७७

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुसहित चार जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

कोरोना संक्रमण देखिएर मृत्यु भएकी महिलाको नवजात शिशु , श्रीमान्, सासू र एक आफन्तलाई अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नागेन्द्र झाले बताएका छन् ।

शनिबार बेलुका ती चारैजनाको नमुना संकलन गरिएको छ । आज बेलुकासम्ममा त्यसको रिपोर्ट आउने जनाइएको छ । त्यस्तै सात चिकित्सक र नर्सलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

ती महिला गत २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । अस्पतालले २५ वैशाखमा डिस्चार्ज गरेपछि एम्बुलेन्समार्फत उनलाई सिन्धुपाल्चोकको राम्चे पुयाइएको थियो । तर जेठ १ गते ज्वरो र श्वासप्रश्वासलगायत समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

कोरोना संक्रमण भएको पुष्टि भएपछि चिकित्सक र सुरक्षाकर्मीको विशेष टोलीले शनिबार राति नै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।