क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

Newslaya Home

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

आइतबार ०४, जेठ २०७७

नेपालगञ्ज । बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको हो ।

उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएपछि उनको मृत्यु भएको हो ।

हिजोमात्रै ती युवासहित २ सय ६३ जनाको स्वाव लिइएको थियो । त्यसको रिपोर्ट आइसकेको छैन । पछिल्ला दिनमा भारतबाट बाँके फर्किनेमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका रहेका छन् । त्यहाँ ११ वटा क्वारेन्टाइनमा ६ सय २६ जना बसेका छन् ।

भारतबाट आएका आठ जनामा यसअघि नै कोरोना देखिएपछि नरैनापुरमा सावधानी अपनाइएको छ । संक्रमितको सम्पर्कमा रहेका भनिएका करिव तीन सय मध्येमा २ सय ६३ जनाको शनिबार स्वाव लिइएको थियो । अझै ठूलो संख्या मानिसको स्वाव लिन बाँकी रहेको छ ।

मृतक युवाको शव अहिले पनि क्वारेन्टाइनमै छ । नरैनापुरका स्वास्थ्य शाखाका प्रमुख खाँले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गर्न नेपालगञ्ज आउदै गरेको जानकारी दिए ।