सिमेन्ट उद्योगको समस्या समाधान गर्न माग

Newslaya Home

सिमेन्ट उद्योगको समस्या समाधान गर्न माग

शनिबार ०३, जेठ २०७७

विराटनगर। मुलुकभित्र मागभन्दा बढी क्लिकंर उत्पादन भएकाले आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन्।

उनीहरुका अनुसार क्लिकंरमा मुलुक आत्मनिर्भर भइसकेकोले निकासीका लागि विशेष व्यवस्था गर्नुपर्ने देखिएको छ। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपालबाट भारतमा क्लिङ्कर निर्यात हुनुपर्नेमा उल्टै भारतबाट नेपालका सिमेन्टका उद्योगहरूले आयात गरिरहेको बताएका छन् ।

भारतमा त्यहाँको सरकारले सिमेन्ट र क्लिङ्कर उद्योगलाई करको अनावश्यक भारबाट मुक्त बनाएकाले भारतीय सिमेन्ट र क्लिङ्कर सस्तो भएको बताइएको छ । तर, नेपालमा स्थानीय तह, प्रदेश सरकार र केन्द्र तीनवटै निकायले सिमेन्ट र क्लिङ्करमा कर लगाएको थापाले बताए ।

उनले सरकारले कोइलाको पैठारीमा लगाएको भन्सार महसुलबाट सिमेन्ट उद्योगलाई मुक्त गर्नुपर्ने र बिजुलीको महसुलमा सुविधा दिनुपर्ने माग गरे।

नेपाल अल्ट्राटेक सिमेन्टका सञ्चालक मनीष मारूले मध्यप्रदेशको जेपी भन्ने ठाउँबाट पैठारी हुने बताए । भारतबाट ल्याइने क्लिङ्करको मूल्य हिजोआज प्रति टन भारु २४ सयदेखि २५ सय छ। जेपीदेखि भारतीय रेलवेको र्‍याकमा लोड गरेर ल्याइएको क्लिङ्कर विराटनगरको सीमावर्ती भारतीय रेलवे स्टेसन बथनाहामा अनलोड गरिन्छ।

रेलवेले प्रतिटन भारु १४ सय रुपैयाँ भाडा लिन्छ। क्लिङ्करको पैठारी गर्दा नेपालको भन्सार विन्दुमा प्रति टन २४ सय रुपैयाँ र भ्याट तिर्नुपर्छ। त्यस्तै सीमावर्ती बथनाहा रेलवे स्टेसनदेखि ट्रकमा लोड गरेर कारखानासम्म पुर्‍याउँदा प्रति टन ११ सय रुपैयाँ खर्च लाग्छ।

सञ्चालक मारूले सबै खर्च जोडेर कारखानासम्म आइपुग्दा क्लिङ्करको मूल्य प्रतिटन ११ हजार ४० रुपैयाँ पर्ने दाबी गरे। उता होङ्सीले प्रतिटन ७ हजार २ सयमा क्लिङ्कर उपलब्ध गराइरहेको छ । यसमा ट्रक भाडा प्रतिटन २२ सय रुपैयाँ लाग्छ। क्लिङ्करको मूल्य र ढुवानी खर्च दुवैमा भ्याट तिरेपछि एक टन क्लिङ्करमा कुल लगानी १० हजार ६ सय २२ हुन्छ।

उद्योगी मनीषका अनुसार नेपालको क्लिङ्करमा एमजिओ (म्याग्नेसियम अक्साइड) को मात्रा धेरै भएकाले सिमेन्टको गुणस्तरीय उत्पादन हुन सक्दैन। क्लिङ्करमा एमजिओको मात्रा अधिकतम ४ हुनुपर्नेमा नेपालको क्लिङ्करमा ५ देखि ६ सम्म रहेको उनको दाबी छ। त्यसैले भारतीय क्लिङ्कर आउन दिनुपर्ने उनको तर्क छ। त्यस्तै उनले सिमेन्ट उद्योगका समस्याहरु समाधान गर्न माग गरेका छन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न समेत मनीषले माग गरेका छन् ।

विराटनगर भन्सार कार्यालय हुँदै गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ अर्ब २६ करोड ७१ लाख मूल्यको १ लाख ४० हजार ८ सय २६ टन क्लिङ्करको पैठारी भएको थियो।