आजबाट देशभरका सबै बैंक तथा वित्तीय संस्था खुले

Newslaya Home

आजबाट देशभरका सबै बैंक तथा वित्तीय संस्था खुले

आइतबार २८, बैशाख २०७७

धरान । आज (आइतबार) बाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका छन् ।

मन्त्रिपरिषद्को यही बैशाख २४ गतेको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा सञ्चालनमा आएका हुन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आजदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गरिएको छ ।

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ ।

‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

सरकारले गत चैत्र ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए ।