५६ दिनपछि बार्सिलोनाका खेलाडी अभ्यासमा फर्किए

Newslaya Home

५६ दिनपछि बार्सिलोनाका खेलाडी अभ्यासमा फर्किए

शनिबार २७, बैशाख २०७७

काठमाडौं । ५६ दिनपछि स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरू अभ्यासमा फर्किएका छन् ।

कोरोना भाइरसको त्रासकै बीच लिग सुरू गर्ने तयारी स्वरुप स्पेन सरकारले यसै साताबाट क्लबहरुलाई अभ्यासका लागि अनुमति दिएपछि बार्सिलोनाका खेलाडीहरू मैदान फर्किएका हुन् ।

लिग सुरु गर्ने तयारी भएपछि बार्सिलोनाले शुक्रबारबाट अभ्यास थालेको हो । पहिलो दिनको अभ्यासमा कप्तान लियोनल मेसी, एन्टोनियो ग्रिजम्यान, लुइस सुआरेज, मार्क आन्द्रे, जेरार्ड पिकेलगायत खेलाडी सहभागी थिए ।

मेसी लगायतका खेलाडीहरुले जोन गेम्पर ट्रेनिङ सेन्टरमा एक्लाएक्लै ट्रेनिङ गरेका थिए । स्पेनिस सरकारले अहिले क्लबहरुलाई व्यक्तिगत रुपमा ट्रेनिङ गर्न मात्र अनुमति दिएको छ ।

बार्सिलोनासँगै सेभिया, भिल्लारियल, लेगानेसले पनि शुक्रबारबाटै अभ्यास सुरु गरेका छन् । यी सबै क्लबहरुले खेलाडी लगायत सम्पूर्ण स्टाफको कोरोना परीक्षणपछि अभ्यास सुरु गरेका हुन् ।

यता, अर्को ला लिगा क्लब रियल मड्रिडले भने सोमबारबाट अभ्यास सुरु गर्ने तयारी गरेको छ । उसले अभ्यासका लागि खेलाडीसहित सम्पूर्ण स्टाफको कोरोना परीक्षण गराएको छ र रिपोर्टको प्रतीक्षा गरिरहेको छ । यदि सबैको रिपोर्ट नेगेटिभ आए सोमबारबाटै रियलले ट्रेनिङ सुरु गर्नेछ।

कोरोना भाइरसका कारण स्थगित भएको ला लिगा जुन २० बाट सुरु हुने तय भइसकेको छ ।