ती तिनै हुन्...! (कविता)

Newslaya Home

ती तिनै हुन्...! (कविता)

- लक्ष्मीप्रसाद कोइराला
शनिबार २७, बैशाख २०७७


ती तिनै हुन्!
जुन हाम्रा नदीहरु
सङ्लो बग्दा
मन धमिलो बनाएर
सुनसरी र सप्तरीलाई
चुर्लुम्म डुबाउनेहरु
ती तिनै हुन्!!

नाकाबन्दी लगाएर
ताली बजाउनेहरु
जङ्गे पिल्लर उखेलेर
सुस्ता,महेसपुर चिथोर्नेहरु
ती तिनै हुन् !!

हाम्रो सम्बन्धमा
रोटीबेटी जोडे पनि
सोझासिधा चेलीबेटीलाई
कालो कोठीमा लगेर
अस्मिता लुट्नेहरु
ती तिनै हुन्!!

अघिल्लो दिन
आफूले नै दिएको
एक मुठ्ठी अनुदानलाई
भोलिपल्ट लुटेर
सुइँकुच्चा ठोक्नेहरु
ती तिनै हुन्!!

सर्प,बिच्छी
र लामखुट्टेहरुले झै
विष ओकलेर
बारम्बार डसिरहने
ती तिनै हुन्!!

जति तिनीहरूलाई
हेलिकप्टरबाटै
मिथिला बोलाए पनि
सार्वजनिक विदा दिएर
अभिनन्दन गरे पनि
संसदको रोष्टममा उभिएर
बोल्न दिए पनि
ती तिनै हुन्!!

अस्पतालको कुनामा
जति पोचा लगाएर
सफा गरे पनि
गुवापान खाएर
पिच्चपिच्च थुक्ने
ती तिनै हुन्!!

जति हामीले
तिनीहरूको रुप हेरेर
मुजुर भने पनि
सार रसायन तत्व
गिध्दको देखिने
ती तिनै हुन्!!

कोशीटप्पुमा
पिकनिक जाँदा
हामीलाई नचिनेर
अर्नाहरुले हान्नुभन्दा
तिनीहरूलाई चिनेर
बरु भन्नूपर्छ
ती तिनै हुन्
ती तिनै हुन् ।