ग्रामीण अर्थशास्त्र र अनलाइन कक्षाहरु !

Newslaya Home

ग्रामीण अर्थशास्त्र र अनलाइन कक्षाहरु !

- लक्ष्मीप्रसाद कोइराला
शुक्रबार २६, बैशाख २०७७

प्यारा भाइबहिनीहरु,
प्रकोपमा पनि आराम छु आराम चाहन्छु !
यसरी लेख्नुपर्ने खास कारण त त्यस्तो केहीपनि थिएन त्यहिपनि भाइबहिनीहरु तिमी हामीजस्ता दुरदराजका विद्यालय र विद्यार्थीहरुलाई सायद हुँदाखाने या हुनेखाने बुझेर नै होला प्रविधिमैत्री अनलाइन कक्षाहरु सञ्चालन गरि अनलाइन अध्ययन गराउन थालिएका उर्दीहरु म सुन्दैछु अनि तिमीहरुलाई पनि वास्तविकता सुनाऊँ भनेर केही लेख्दैछु भाइबहिनीहरु ! तिमीहरुले राम्रोसँग दोहोर्‍याइ तेहर्‍याइ पढ है !

भाइबहिनीहरु ! हामीहरु बिहानै उठेर उपल्लो ग्रामीण जनजीवनका घरायसी नियमित कार्यहरु घाँस, दाउरा, मेलापात, धारापँधेरी अनि पाखापखेरु चहारेर नौ बजेतिर घर आउँछौँ । त्यसपछि हस्याङ्गफस्याङ्ग गर्दै घरमा आमाले भुलुक्क उमाल्नु भएको दाल, भात, तरकारी मिठोमसिनो जे छ, त्यही खाएर खलियाघरको पाठशालासम्म आजपर्यन्त जाँदै थियौँ । अब उप्रान्त हामीले पढ्नलाई त्यत्रो चुइचुम्मा र जरायोटारको उकालीओराली घन्टौँघन्टा हिंड्नु पर्दैन रे ! घरमै बसीबसी अनलाइन कक्षाहरु पढ्नपाउने भयौँ भन्ने सुन्दै छु।म खुसी छु अनि तिमीहरुलाई पनि यो खुसीको खबर सुनाउन पाउँदा मलाई लाग्छ,तिमीहरु पनि निक्कै फुरुङ्ग हुन्छौ होला ।

भाइबहिनीहरु ! अस्तिका दिनदेखि नै आमालाई हेरन तिमीहरुलाई अनलाइनकक्षा पढाउन आवश्यक पर्ने सामाग्रीहरु नेट,ल्यापटप, बिजुलीबत्ती जुटाउनलाई निक्कै धपेडी परेको छ। बुबा हुनुभएको भए निक्कै सजिलो हुन्थ्यो । दुवैजना मिलेर जोरजाम गरिहाल्नु हुन्थ्यो तर खै के भनौँं भाइबहिनीहरु ’ तिमीहरु नजन्मिकनै हाम्रा बुबाकाकाहरु अरुले सुट्केस बोकेको देखेर विदेसिनु भएको पनि आज मलाई लाग्छ केही दसक भइसक्यो । महामारीले गाँजेर आउने छाँटकाट नै छैन भन्दै हुनुहुन्थ्यो।अर्को सालतिर नमरी बाँचे दैवले साँचे अनि छुट्टीमिल्यो भने केही महिनाका लागि भएपनि आउँछु ।त्यसपछि तिमीहरु पनि एयरपोर्टसम्म मलाई लिनआउनु ल भनेर अस्ति भाइबहिनीहरु सुतेको बेला फोन गर्नुभएको थियो। साहुले पनि न पैसादिन्छ न कामदिन्छ उल्टै अभरमा परेको बेला घर जा भन्दै छ । काकासँग भेट नभएको पनि निकै भयो भन्नुहुँदै थियो ।

अनलाइन पढाउने भन्छन् सबैको पहुँच छैन।यही परीक्षा प्रणाली र मूल्याङ्कन विधिले पनि हुँदैन।अरुपनि धेरै न्यूनतम पूर्वाधार, प्रविधीमैत्री वातावरण,पर्याप्त नेट,बत्तीबिजुली,तालिम, सेमिनार, गोष्ठीबिना बाबाले उतैबाट तनकाटेर किनेर पाठाइ दिनुभएको त्यो हामीसँग भएको एकथान मोबाइलको सेटबाहेक हामीले सबै व्यस्थापन गर्नुपर्ने छ ।

घरमा फुटेको पैसापनि छैन ।अलैंचीपनि त्यस्तो फलेन।सबै राते लागेर मर्यो । कृषि सहकारीबाट बीउल्याएर रोपेको मकैका घोगाहरु त ठूलाठूला छन् तर दाना पटक्कै लागेन।सागसब्जी प्रशस्त उत्पादन गर्न सकिन्छ तर हेर न त्यो अक्करे भिरमा ढाकरबोकेर कतिदिन हिँड्न सकूँला र म बजार पुर्‍याउन यातायातको सुबिधा भए त हाम्रो आर्थिकअवस्था सुध्रिएर कायापलट नै हुन्थ्यो तर के गर्नु अलिअलि भएकोपनि बन्दाबन्दीले सखाप भयो ।

भाइबहिनी तिमीहरुले अनलाइन पढ्छुभन्दा कसरी हुँदैन भनौं मरुयो राम्रो हो तर हेर न कस्तो दुःखलाग्छ ! फोन गर्नलाई पहाडका थुम्काहरु चहार्नु पर्छ,जहाँत्यहाँ टावर समात्दैन । घरदेखिमाथि पामाखाम डाँडाको पात्लेको रुखमाथि फोन गर्न चढ्नुपर्छ । मोबाइल यताउती हल्लाउनु पर्छ अनि टावर धिपधिप आउँछ । त्यही मौकामा हलो १हलो१भन्दै मोबाइल हेर्दै फुट्ने गरि चिच्याउँदै बोल्नुपर्छ । ब्याट्रीचार्ज गर्नचाहिँ कुलमान आएपछि सजिलै भएको छ तर नोकियाको चार्जर हो बिग्रियो भने अर्को किनेर ल्याउन एकदिनको काम बिताएर बजार पुग्नुपर्छ तैपनि तिमीहरुलाई अनलाइन पढाउन आमालाई पनि इच्छा लागेको हुनाले सहकारीबाट ऋणझिकेर ल्यापटप किनिदिने भन्नुहुँदै थियो तर धितोबन्धक राख्नुपर्छ अरे १ब्याज चर्को नै होला ।सुन्छु कुनै सहकारीले त ब्याजको स्याज स्याजको स्याज लिन्छ्न् अरे ।

एकदिन तिमीले भन्थ्यौ नि भाइबहिनीहरु ! बिएसी सरले ज्यामितिबक्स र ग्राफपेपर शैक्षिकसामाग्री ल्याऊ है भन्दा बुवाले विदेशबाट पैसापठाउनु भएको छैन।अब दशैतिहारपछि किनेर ल्याउँछु । त्यो पनि भएनभने कुखुराका चल्लाबढेपछि बेचेर आमाले किनिदिनु हुन्छ अरे सर भन्ने साथिको आर्थिकअवस्था तिमीहरुले मलाई खानाखाँदै सुनाएको विपन्न परिवारको वास्तविकता बिर्सिएका छैनौ होला !

ती तिम्रा साथीहरुको वर्तमान आर्थिकअवस्थामा जादुको छडीले जस्तो फेरबदल भएजस्तो लाग्दैन।अनि ऊ जस्ता विद्यार्थीहरुलाई पनि त्यो ज्यामिति बक्स र ग्राफपेपरभन्दा ल्यापटपको जोहो गर्न झन धौधौ पर्दैन र÷अनि भू–धरातलीय सुगमता र दुर्गमताको पहुँच बुझेर पहिले स्तरोन्नति नगरि अनलाइन कक्षा कसरी सन्तुलित र व्यहारिक होला भनेर आमाको मथिङ्गलमा आउँछ रे भाइबहिनीहरु तर सरकारको चाहिँ खै के हुन्छ थाहा भएन ।

मेरा प्यारा भाइबहिनीहरु ! आमाले काजीको खेतमा जनबनी गरेर दिनभरी पसिना बेचेर दुईछाक भात मीठोमसिनो खान र एकधरो लुगालगाउन आमाको ग्रामीण अर्थशास्त्रलाई धौधौ परेकोबेला आज तिमीहरुको अनलाइन कक्षाका लागि आवश्यक सामाग्रीको व्यस्थापन गर्नसक्नु भएको खण्डमा प्रविधिको उपयोग र समयको सदुपयोग गरि पढ है मेरा भाइबहिनीहरु १ तिमीहरू सबैको सधैं जय होस् । मेरा प्यारा भाइबहिनीहरु ! शुभकामना ।